वीरगन्ज, पर्सा ।इतिहासमै पहिलो पटक नेपाली सेनाले छठ पर्वका अवसरमा छठी माई र सूर्य भगवानलाई सलामी अर्पण गरेको छ। सोमबार साँझ छठ पर्वको मुख्य दिन संझिया घाटका अवसरमा वीरगन्ज महानगरपालिका–१०, घडिअर्वा छठघाटमा सेनाको टोलीले यो विशेष सलामी कार्यक्रम सम्पन्न गरेको हो।
यसअघि दशैंको सप्तमीका दिन मात्र नवदुर्गा भवानीलाई सलामी दिने परम्परा रहेकोमा यस वर्ष सेनाले छठ पर्वमा पनि धार्मिक सहअस्तित्व र सम्मानको सन्देश दिँदै छठी माई र सूर्य भगवानलाई सलामी दिएको हो। वीरगन्जको श्रीपुरस्थित श्री श्रीजंग गणबाट गएको टोलीले छठघाट परिसरमा रहेको सूर्य मन्दिरमा पुगेर सलामी अर्पण गरेको थियो।
श्री श्रीजंग गणका प्रमुख सेनानी लोकेन्द्र कार्कीले छठ पूजा व्यवस्थापन समितिको आग्रहअनुसार सेनाको टोलीले सलामी अर्पण गरेको जानकारी दिए। उनले भने, “छठ पर्वप्रतिको आस्था र लोकप्रियता बढ्दै गएको छ। नेपाली सेना सधैं सबै धर्म र संस्कृतिप्रति सम्मानका साथ अघि बढ्दै आएको छ।”
छठ पूजा व्यवस्थापन समितिका अध्यक्ष राकेश कुमार साहका अनुसार यो कार्यक्रम छठ पर्वको इतिहासमै पहिलो पटक भएको हो। उनले भने, “गाउँबासीसँग छलफल गरेर सेनालाई अनुरोध गर्यौं, र सेनाले सकारात्मक रुपमा स्वीकृति दियो। यो वर्षको छठ ऐतिहासिक रह्यो, अब यसलाई निरन्तरता दिने प्रयास हुनेछ।”
कार्यक्रममा जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी उपरीक्षक सुदीपराज पाठक, प्रहरी नायब उपरीक्षक किशोर लम्साल, वडाध्यक्ष सुशील साह कानु, समितिका पूर्वअध्यक्ष प्रमानन्द साह कानु र हीरा साह कानु, साथै घडिअर्वा स्पोर्ट्स क्लबका अध्यक्ष सन्तोष साहलगायत स्थानीय जनप्रतिनिधि र श्रद्धालुहरूको उपस्थितिमा सलामी कार्यक्रम सम्पन्न भएको थियो।
छठ पर्वको माध्यमबाट धार्मिक समरसता र राष्ट्रिय एकताको सन्देश फैलिएको भन्दै सहभागीहरूले सेनाको यो पहललाई ऐतिहासिक र प्रेरणादायी भनेका छन्।