सामान्यतया मनसुन सकिएपछि नेपालमा हिउँद सुरु नहुँदासम्म ठूलो पानी पर्दैन। तर यो क्रम फेरि बिथोलिन लागेको छ। अहिले अरब सागर र बंगालको खाडीबाट आएका दुई मौसमी प्रणाली एकआपसमा मिसिँदै छन्, जसले देशभरको मौसम अस्थिर बनाइरहेको छ।
२०७८ साल असोज मसान्तमा पनि यस्तै प्रणालीले सुदूरपश्चिम र कर्णाली प्रदेशमा भीषण वर्षा गराएको थियो। त्यसपटकको वर्षाले देशभर झन्डै ६८ हजार हेक्टर धानबाली नष्ट तुल्याएको थियो। अहिले पनि त्यसकै पुनरावृत्ति हुन सक्ने मौसमविद्हरूले चेतावनी दिएका छन्।
अरब सागर र बंगालको खाडी दुवैबाट असर
अहिले अरब सागरमा विकसित न्यून चापीय प्रणाली र बंगालको खाडीमा उत्पन्न ‘मोन्था’ नामक चक्रवातले नेपालको आकाशमा बाक्लो बादल ल्याएको छ। काठमाडौंसहित देशका अधिकांश भागमा घाम–पानी मिसिएको मौसम चलेको छ।
मौसमविद् विनोद पोखरेलका अनुसार अरब सागरको प्रभाव देखिन थालिसकेको छ भने बंगालको खाडीको चक्रवात उत्तरतर्फ सरिरहेको छ। यो चक्रवात भारतको आन्ध्रप्रदेश तटमा ९०–१०० किमी प्रतिघन्टाको वेगका साथ ठोक्किन लागेको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन्।
‘यो प्रणालीको प्रभाव मंगलबारदेखि पश्चिम नेपालमा देखिने र बिहीबारदेखि शनिबारसम्म पूर्वी भागमा भारी वर्षा गराउने सम्भावना छ,’ पोखरेलले बताए।
हिमालमा बाक्लो हिमपातको सम्भावना
जल तथा मौसम विज्ञान विभागका अनुसार सोमबार रातिदेखि बुधबार बिहानसम्म गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा र हिमपातको सम्भावना छ।
गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रमा भने भारी हिमपातको सम्भावना रहेको विभागले जनाएको छ।
विपद् विशेषज्ञ धर्मराज उप्रेतीका अनुसार अरब सागर र बंगालको खाडीका प्रणालीहरू सँगै आउँदा सुदूरपश्चिमदेखि कोशीसम्म असर पुर्याउने छन्। उनले भने,
‘दुवै प्रणालीका कारण विशेषगरी कोशी, मधेस र बागमती प्रदेशमा शुक्रबार र शनिबार मध्यमदेखि भारी वर्षा हुने देखिन्छ। किसानले धान र परालको सुरक्षामा ध्यान दिनुपर्छ। आइतबारपछि मात्र बाली भित्र्याउनु उपयुक्त हुन्छ।’
यातायातमा असर पर्ने सम्भावना
शुक्रबार र शनिबार काठमाडौंसहित देशका पूर्वी भूभागमा हवाई र स्थल यातायात प्रभावित हुन सक्ने पूर्वानुमान गरिएको छ।
मौसमविद्हरूका अनुसार मंगलबारदेखि शनिबारसम्म महोत्तरीमा २०६.४ मिमि, वीरगन्जमा २१५.२ मिमि, विराटनगरमा १४२.४ मिमि, खाँदबारीमा १३२.७ मिमि, काठमाडौंमा ८६.२ मिमि, पोखरामा २३ मिमि, घोराहीमा १०.५ मिमि, जाजरकोटमा ११.९ मिमि र धनगढीमा १.६ मिमिसम्म वर्षा हुने अनुमान गरिएको छ।
विभागले भने मोन्था चक्रवातको प्रत्यक्ष प्रभावबारे आधिकारिक बुलेटिन आउन बाँकी रहेको जनाएको छ। तर विज्ञहरूले भने दुवै प्रणालीको संयुक्त प्रभावले देशका पूर्वी र तराई भूभागमा भारी वर्षा गराउने निश्चित देखिएको बताइरहेका छन्।