काठमाडौं— सोलुखुम्बुको थामे क्षेत्रमा गएको हिमताल विस्फोटको कारण परम्परागत रूपमा मानिँदै आएको हिउँपहिरो नभई चट्टानको पहिरो भएको नयाँ अध्ययनले देखाएको छ।
अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (इसिमोड) ले गरेको अध्ययन अनुसार हिन्दुकुश हिमालय क्षेत्रमा पछिल्लो एक दशकमा ०.२८ डिग्री सेल्सियस तापक्रम वृद्धि भएको छ, जसका कारण हिमनदी पग्लिने दर तीव्र बनेको र हिमताल विस्फोट, थर्मोकार्स्ट, तथा अन्य प्रकारका हिमविचलन घटना बढेका छन्।
इसिमोडका जोखिम विशेषज्ञ अरूणभक्त श्रेष्ठका अनुसार अध्ययन टोलीले थामे क्षेत्रमा विस्फोट भएको दुईवटा हिमताल — माथिल्लो ङ्गोले चो र तल्लो ङ्गोले चो — फुटेर आएको भेलबाढीलाई विस्तृत रूपमा विश्लेषण गरेको हो।
श्रेष्ठले भने, “थामेको शिरमा रहेका दुई ताल शृंखलाबद्ध रूपमा फुटेका थिए। माथिल्लो तालमाथि चट्टानसहितको पहिरो खस्दा उत्पन्न लहरले बाँध भत्कायो र त्यसपछि तल्लो ताल पनि फुट्यो।”
अध्ययनका निष्कर्ष अनुसार उक्त चट्टानको पहिरो करिब २०० मिटर माथिबाट खसेको थियो। त्यसले पानीमा शक्तिशाली विस्थापन लहर सिर्जना गर्दै हिमतालको मोरेन (प्राकृतिक बाँध) क्षय गरायो। यसबाट उत्पन्न भेलले तीन मिटर व्याससम्मका ठूला ढुंगासमेत बगाएर तल्लो तटीय क्षेत्रसम्म पुर्यायो।
भू–उपग्रह विश्लेषणअनुसार माथिल्लो तालबाट १ लाख ५६ हजार घनमिटर र तल्लो तालबाट ३ लाख ३ हजार घनमिटर पानी एकैपटक बगेको अनुमान गरिएको छ।
यस विनाशकारी बाढीले २७ वटा घर, एक विद्यालय, एक स्वास्थ्य चौकी र एउटा पुलमा क्षति पुर्यायो। करिब १३५ जना स्थानीयवासीले थातथलो छाड्नुपर्यो।
अध्ययनले पत्ता लगाएको अर्को महत्वपूर्ण तथ्य यो हो कि तल्लो ताल फुटेपछि पानी ३ किलोमिटर तल थ्यान्बो मैदानमा पोखरी बनेर रोकिएको थियो। त्यो पोखरी फुटेपछि बाढीको तीव्रता झनै बढेको थियो।
श्रेष्ठका अनुसार माथिल्लो हिमताल अहिले पनि मध्यमदेखि उच्च जोखिममा छ, किनभने त्यहाँ पुनः चट्टान खस्ने सम्भावना रहेको छ। नजिकै रहेको रिन्धी चो (ग्ल्यासियल लेक–१) अझ बढी जोखिमयुक्त देखिएको छ।
इसिमोडको प्रतिवेदनले सगरमाथा क्षेत्रमा हिमताल विस्फोटका जोखिमहरूमा अब केवल हिउँ र बरफजन्य कारण मात्र नभई चट्टानजन्य पहिरो पनि प्रमुख कारक बन्न थालेको निष्कर्ष निकालेको छ।
विश्वव्यापी तापक्रम वृद्धिका कारण हिन्दुकुश क्षेत्रमा हिमनदीको क्षति ६५ प्रतिशतले वृद्धि भएको अध्ययनमा उल्लेख छ। यससँगै २५ हजारभन्दा बढी नयाँ हिमतालहरू बनेका छन्, जसमा थामे क्षेत्रका हिमताल पनि समावेश छन्।
अध्ययनको निष्कर्षमा भनिएको छ —
“हिन्दुकुश हिमालय क्षेत्रमा तीव्र तापक्रम वृद्धिले हिमनदी पग्लिने दर बढाएको छ। यसले नयाँ हिमतालहरूको संख्या मात्र होइन, तिनको विस्फोट जोखिम पनि बढाइरहेको छ।”