मकवानपुर, हेटौँडा — मकवानपुरको प्रसिद्ध कुलेखानी जलाशय (इन्द्रसरोवर) मा पछिल्ला वर्षहरूमा माछाको तौल र उत्पादन दुबै घट्दै गएको छ। मत्स्य व्यवसायीहरूका अनुसार, वरपरका गाउँमा हुने व्यावसायिक तरकारीखेतीमा प्रयोग हुने रासायनिक विषादी तालमा मिसिँदा माछाको प्राकृतिक खाना नष्ट भएको र यसले माछाको वृद्धि दरमा प्रत्यक्ष असर परेको छ।
इन्द्रसरोवर मत्स्य व्यवसायी सङ्घका उपाध्यक्ष विकास बलामीका अनुसार करिब सात किलोमिटर लामो र ११ हजार १५६ घनमिटर क्षेत्रफलमा फैलिएको जलाशयमा हाल ४०० वटा केज (पिँजरा) राखेर प्रति घनमिटर चार दशमलव पाँच किलोका दरले माछा उत्पादन भइरहेको छ। तर पछिल्ला वर्षहरूमा माछाको औसत तौल र सङ्ख्या दुवै घट्दै गएको उनले बताए।
बलामीका भनाइमा, तरकारीखेतीमा प्रयोग गरिने कीटनाशक र रासायनिक मल बर्सातको समयमा खोलानाला हुँदै तालमा मिसिन्छ, जसले माछाको प्राकृतिक खाना (प्लाङ्कटन) नष्ट गर्छ। “पानीमा विषादी मिसिँदा माछाको वृद्धि क्षमता घट्दै गएको छ,” उनले भने।
विशेष गरी सिल्भर कार्प, बिगहेड, र ग्रास कार्प जस्ता चिसो पानीमा हुर्कने जातका माछा बढी प्रभावित भएका छन्। यी माछा हरियो शैवाल र साना जीवजन्तुमा निर्भर हुने भएकाले प्राकृतिक खाना नष्ट हुँदा तिनीहरूको तौल र वृद्धि दर दुबै घटेको सङ्घले जनाएको छ।
स्थानीय अर्थतन्त्रमा असर
इन्द्रसरोवर मत्स्य व्यवसायी सङ्घका करिब ६५० परिवार यस व्यवसायमा संलग्न छन्। माछा उत्पादनबाट प्राप्त आम्दानीले गाउँका विद्यालय सञ्चालन, सडक मर्मत र सामुदायिक पूर्वाधार निर्माणमा योगदान पुर्याउँदै आएको थियो। तर अहिले माछाको आकार घटेपछि किसानहरूले आर्थिक घाटा बेहोर्न थालेका छन्।
होटल सञ्चालक तथा माछा व्यवसायी पूर्ण थापा मगरका अनुसार, पहिले दुई किलोसम्म हुर्किने माछा अहिले डेढ किलो पुग्न पनि कठिन भएको छ। “तालको पारिस्थितिक सन्तुलन बिग्रँदै गएको छ,” उनले भने। “माछाको प्राकृतिक खाना घटेकाले उत्पादन र आम्दानी दुवैमा गिरावट आएको छ।”
सरकारी निकायको प्रतिक्रिया
मत्स्य विकास केन्द्र कुलेखानीकी निमित्त प्रमुख मनिता पौडेलले माछाको तौल घट्नु गम्भीर विषय भएको बताउँदै यसको वैज्ञानिक अध्ययन सुरु गरिएको जानकारी दिइन्। “हालै गरिएको परीक्षणमा पानीमा रासायनिक अंश सामान्यभन्दा माथि पाइएको छ,” उनले भनिन्।
पौडेलका अनुसार केन्द्रले हरेक वर्ष करिब दुई लाख भुरा माछा तालमा छाड्ने गर्छ र हाल सिल्भर कार्प, बिगहेड, कमन कार्प, ग्रास कार्प, रहु, नैनी, भाकुर, टिलापिया, सहर र कत्ले जातका माछा उत्पादन गरी बिक्री गरिन्छ। उनले तालको पानी स्वच्छ राख्न विद्यालय र समुदायमा तालिम र सचेतना कार्यक्रम सञ्चालन भइरहेको पनि बताइन्।
विषादीका असर र चुनौती
थाहा नगरपालिका र इन्द्रसरोवर गाउँपालिकामा व्यावसायिक तरकारीखेती तीव्र गतिमा बढ्दै गएको छ। किसानहरूले कार्बोफुरान, मालाथियान, डाइक्लोरोभोस जस्ता विषादी प्रयोग गर्ने गरेका छन्, जसले माटो र पानीमा दीर्घकालीन असर पुर्याउँछ।
प्राकृतिक जलाशय मत्स्य प्रवर्द्धन तथा संरक्षण केन्द्र हेटौँडाका प्रमुख सरोज यादवका अनुसार, विषादीले पानीको रासायनिक संरचना परिवर्तन गर्ने, माछाको अण्डा फुट्ने दर घटाउने र शरीरका अंगहरूमा क्षति पुर्याउने गरेको छ। “विषादी मिश्रित पानी रोक्न नसकिए कुलेखानी तालको जैविक विविधता मात्र होइन, स्थानीय खानेपानी र पर्यटन अर्थतन्त्र पनि जोखिममा पर्न सक्छ,” यादवले चेतावनी दिए।
सम्भावित समाधान
विशेषज्ञहरूका अनुसार, जैविक मल र पर्यावरणमैत्री खेती प्रणाली अपनाउन प्रोत्साहन दिनु आवश्यक छ। मत्स्य विकास केन्द्रले किसानहरूलाई विषादीको सट्टा जैविक प्रविधि प्रयोग गर्न उत्प्रेरित गर्ने र तालमा मिसिने पानी शुद्धीकरणका लागि पोखरी तथा फिल्ट्रेसन प्रणाली निर्माण गर्ने योजना अघि सारिएको छ।
कुलेखानी तालमा माछा उत्पादन घट्नु केवल मत्स्य व्यवसायीका लागि आर्थिक समस्या मात्र नभई जलाशयको पारिस्थितिक सन्तुलन र स्थानीय पर्यटनका लागि पनि चुनौती बनेको छ। विशेषज्ञहरूले यसलाई समयमै नियन्त्रण नगरे दीर्घकालीन संकट उत्पन्न हुने चेतावनी दिएका छन्।