चितवन — माडी नगरपालिका–२ भैरवपुरका ५८ वर्षीय किसान हरिभक्त श्रेष्ठलाई खेतमा गैँडा मरेको घटनापछि चितवन राष्ट्रिय निकुञ्जले साउन अन्तिम साता पक्राउ गरेको थियो। तर, उच्च अदालत हेटौँडाको आदेशपछि उनी धरौटीमा थुनामुक्त भएका छन्।
श्रेष्ठको खेतमा दुर्लभ एकसिङ्गे गैँडा मृत अवस्थामा फेला परेको थियो। प्रारम्भिक अनुसन्धानमा गैँडाको मृत्यु तारबारमा बिछ्याइएको विद्युतीय करेन्टका कारण भएको पुष्टि भएको थियो। तर, निकुञ्ज ऐनअनुसार यस्तो घटनालाई पनि गैँडा तस्करी अन्तर्गत मुद्दा दायर गरिँदै आएको छ।
निकुञ्जबाट करिब साढे दुई किलोमिटर टाढा रहेको श्रेष्ठको खेतमा जंगली जनावरले बाली नष्ट गर्ने समस्या लामो समयदेखि रहँदै आएको छ। त्यसैले, किसानहरूले बाली जोगाउन तारबार लगाउने प्रचलन सामान्य बनेको छ। तर, सोही तारबारमा परेर गैँडाको मृत्यु भएपछि निकुञ्जले कानूनी प्रक्रिया अघि बढाउँदै श्रेष्ठमाथि एकसिङ्गे गैँडा मारेको अभियोगमा मुद्दा दायर गरेको थियो।
चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत डा. गणेश पन्तका अनुसार, “कानूनमा यस्ता घटना पनि गैँडा तस्करीकै दायरामा पर्ने प्रावधान छ। यसले स्थानीय किसान मर्कामा परेको हामीलाई पनि महसुस छ, तर कानूनी बाध्यता छ।”
ऐन अनुसार श्रेष्ठमाथि ५ देखि १७ वर्षसम्म कैद र ५ देखि १० लाख रुपैयाँ जरिवानाको मागसहित जिल्ला अदालत चितवनमा मुद्दा दायर गरिएको थियो। मुद्दाको प्रारम्भिक सुनुवाइपछि उनलाई पुर्पक्षका लागि थुनामा राखिएको थियो।
तर, ‘निर्दोष किसानलाई मुद्दा लगाइएको’ भन्दै माडीका स्थानीय र युवाहरूले विरोध प्रदर्शन गर्दै आन्दोलनसमेत गरेका थिए। सार्वजनिक दबाब र उच्च अदालत हेटौँडामा परेको निवेदनपछि अदालतले श्रेष्ठलाई २ लाख ५० हजार रुपैयाँ धरौटीमा थुनामुक्त गर्न आदेश दिएको जिल्ला अदालत चितवनका सूचना अधिकारी अमृत विश्वकर्माले जानकारी दिए।
उनका अनुसार, “मुद्दा अझै पनि अदालतमा विचाराधीन छ। उच्च अदालतको आदेशअनुसार धरौटी लिएर थुनाबाहिर मुद्दाको प्रकृयामा सहभागी हुन अनुमति दिइएको हो।”
यससँगै किसान श्रेष्ठ अहिले थुनामुक्त भए पनि, गैँडाको मृत्यु प्रकरणको अन्तिम फैसला भने अझै बाँकी छ।