१३ कात्तिक, काठमाडौं । नेकपा (एकीकृत समाजवादी) र नेकपा (माओवादी केन्द्र) बीच पार्टी एकताको प्रस्ताव सार्वजनिक भएपछि समाजवादी पार्टीभित्र गम्भीर बहस सुरु भएको छ । अध्यक्ष माधवकुमार नेपाल पक्षका नेताहरू एकताको पक्षमा उभिएका छन् भने सम्मानित नेता झलनाथ खनाल पक्षका नेताहरूले अहिले एकता गर्नु नहुने धारणा राखेका छन् ।
राजधानीमा जारी केन्द्रीय समिति बैठकमा यही विषय मुख्य एजेन्डा बनेको छ । बैठकमा बिहीबार नेता झलनाथ खनाल र महासचिव घनश्याम भुसालले आफ्नो धारणा राख्ने कार्यक्रम रहेको छ । त्यसपछि पदाधिकारी र केन्द्रीय सदस्यहरूले क्रमशः बोल्नेछन् ।
यसैबीच, एकीकृत समाजवादीका उपमहासचिव मेटमणि चौधरीले Nepalcover.com सँग कुरा गर्दै पार्टीभित्र माओवादीसँग एकताको पक्षधरहरूको संख्या९९ प्रतिशत रहेको दाबी गरेका छन् ।
“कम्युनिष्ट पार्टीहरूबीच एकता गर्दै जानुपर्छ भन्ने मेरो ठम्याइ हो,” उनले भने, “९९ प्रतिशत नेताहरू एकताको पक्षमा छन्, बोरामा एक–दुईटा बियाँ त भटिनुलाई स्वाभाविक रुपमा लिनुपर्छ ।”
चौधरीका अनुसार, माओवादी केन्द्रसँगको एकता औपचारिकरूपमा अब मंसिरमा हुने एकता महाधिवेशनबाट टुंगो लाग्नेछ । “हामी मंसिरमा एकता महाधिवेशन गरेर नयाँ पार्टीसहित चुनावमा जाने तयारीमा छौं,” उनले भने ।
एकतापछि बन्ने नयाँ पार्टीको नामका विषयमा उनले “नेकपा समाजवादी” रहने सम्भावना बढी रहेको बताए । “विभिन्न प्रस्ताव छन्, तर ‘समाजवादी’ शब्द रहने पक्का छ,” चौधरीले स्पष्ट पारे ।
चुनाव चिन्हबारे उनले भने, “हामीले कलम नै राख्ने भनिरहेका छौं, माओवादीले तारा भनिरहेका छन्, अन्तिम टुंगो छलफलमै पुग्छ ।”
नेतृत्व र पद व्यवस्थापनका विषयमा पनि छलफल भइरहेको चौधरीले जनाए । उनका अनुसार, “सबै व्यवस्थापन एकता महाधिवेशनबाट टुंगिनेछ ।”
यसरी, माओवादी केन्द्रसँग एकता गर्ने तयारीले एकीकृत समाजवादीभित्र आन्तरिक द्वन्द्व देखिए पनि चौधरीजस्ता शीर्ष नेताहरूले एकतालाई ‘कम्युनिष्ट आन्दोलनको स्वाभाविक प्रक्रिया’को रूपमा प्रस्तुत गरेका छन् ।