नेपाली कांग्रेसभित्र विशेष महाधिवेशनको माग सशक्त रूपमा अघि बढ्दैछ। चौधौं महाधिवेशनका ४७४३ मध्ये २४८८ प्रतिनिधिले हस्ताक्षर गरी विशेष महाधिवेशनको माग गरेपछि पार्टीभित्र नेतृत्व र नीतिको दिशाबारे व्यापक बहस सुरु भएको छ। हस्ताक्षर अभियानको अगुवाइ गर्नेमध्ये एक नेता हुन् — गुरूराज घिमिरे। उनले कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई असोज २९ गते नै हस्ताक्षर बुझाएर औपचारिक रूपमा माग प्रस्तुत गरेका थिए।
नियमित महाधिवेशनको माग र नेतृत्वप्रति शंका
घिमिरेका अनुसार केन्द्रीय समिति कार्यकाल सकिनु एक वर्षअघि नै नियमित महाधिवेशनको तयारी सुरु गर्नुपर्नेमा त्यसतर्फ कुनै गम्भीरता देखिएन।
“क्रियाशील सदस्यता नवीकरण, वितरणदेखि तयारीका आधारभूत काम समेत पूरा भएनन्,” उनले भने, “अब नेतृत्वले मंसिरभित्र महाधिवेशन गराउने सम्भावना देखिँदैन, त्यसैले विशेष महाधिवेशन हाम्रो बाध्यकारी विकल्प बनेको हो।”
उनका अनुसार १४औं महाधिवेशनको प्रतिनिधि कार्यकाल तबसम्म सकिँदैन जबसम्म नयाँ प्रतिनिधि चयन हुँदैनन्। “महाधिवेशन प्रतिनिधिको वैधानिकता सकियो भन्नु आधारहीन तर्क हो,” उनले स्पष्ट पारे।
‘मंसिरभित्र महाधिवेशन अनिवार्य’
नेता घिमिरेले मंसिरभित्र नै नियमित वा विशेष, कुनै एक महाधिवेशन हुनुपर्ने अडान दोहोर्याए।
“कात्तिकभित्र क्रियाशील सदस्यताको समस्या समाधान गरेर मंसिरबाट वडा तहदेखि केन्द्रीय तहसम्म महाधिवेशन गर्न सकिन्छ,” उनले भने, “कार्यतालिका मात्रै होइन, महाधिवेशन सम्पन्न हुने सुनिश्चितता नै अहिलेको मुख्य कुरा हो।”
यदि केन्द्रीय समितिले महाधिवेशन टार्ने प्रयत्न गर्यो भने, उनीहरू विशेष महाधिवेशन आयोजनामा अघि बढ्ने बताउँछन्।
“नियमित महाधिवेशन नगर्ने र समय थप्नेजस्ता कार्य भए भने विशेष महाधिवेशनलाई कसैले रोक्न सक्दैन,” उनले चेतावनी दिए।
जेन-जी आन्दोलन र परिवर्तनको दबाब
भदौ २३–२४ को जेन-जी आन्दोलनपछि देशको राजनीतिक परिदृश्य बदलिएको बताउँदै घिमिरेले कांग्रेसले पनि नयाँ पुस्ताको भावना बुझ्नुपर्ने आवश्यकता दोहोर्याए।
“हामी सुध्रिएको र सच्चिएको सन्देश दिन सक्दैनौं भने फागुन २१ को निर्वाचन सामना गर्न सक्दैनौं,” उनले भने, “३५–३६ वर्षदेखि देश र पार्टी चलाउँदै आएको समूहकै नेतृत्वमा अब जान सकिन्न।”
‘महाधिवेशन टार्ने रणनीति पार्टीका लागि घातक’
घिमिरेले चेतावनी दिए — “फागुन २१ को चुनावअघि नियमित महाधिवेशन नगर्ने र विशेष महाधिवेशनको पनि प्रक्रिया नथाल्ने रणनीति लिइयो भने कांग्रेस ठूलो संकटमा पर्छ।”
उनका अनुसार यस्तो कदम “रूढीवादी सोच र जनभावनाविपरीत” हुनेछ।
“लोकतान्त्रिक पार्टीले जनताका भावनाअनुसार आफूलाई बदल्नुपर्छ, अन्यथा जनताले कांग्रेसमाथि भरोसा गर्न छोड्छन्,” उनले भने।
‘पार्टी फुटाउने होइन, लोकतान्त्रिक अधिकार प्रयोग हो’
विशेष महाधिवेशनको माग पार्टी फुटाउने अभ्यास हो भन्ने आरोपलाई घिमिरेले खारेज गरे।
“यो इमोशनल ब्ल्याकमेल मात्र हो,” उनले प्रतिक्रिया दिए, “हामी पार्टी फुटाउने होइन, पार्टीलाई लोकतान्त्रिक बाटोतर्फ फर्काउने प्रयासमा छौं।”
अन्तिम चेतावनी
नेता घिमिरेले अन्त्यमा भने,
“हाम्रो बटमलाइन मंसिर मसान्तभित्र नियमित महाधिवेशन सुनिश्चित हुनु हो। त्यसो भएन भने विशेष महाधिवेशन अनिवार्य हुन्छ।
पार्टीलाई कब्जा गर्ने र एकलौटी रूपमा अघि बढ्ने प्रयास कांग्रेसभित्रै विभाजनको बीउ बन्नेछ।”