काठमाडौँ – प्रतिकूल मौसमका कारण आज मुलुकका हवाई उडान प्रभावित भएका छन्। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने आन्तरिक र अन्तर्राष्ट्रिय उडान प्रभावित भएका विमानस्थलका प्रवक्ता रिञ्जी शेर्पाले जानकारी दिए।
उहाँका अनुसार, आन्तरिक उडानमध्ये केही ‘डाइभर्ट’ भएका छन्। भरतपुर र तुम्लिङटार विमानस्थलका उडान बन्द गरिएको छ भने पोखरा विमानस्थलमा मात्र ‘डिपार्चर’ खुलेको छ। विराटनगर–काठमाडौँ उडेको श्री एयरलाइन्सको विमान डाइभर्ट भएको छ भने भैरहवाबाट काठमाडौँ जाने उडान पनि डाइभर्ट गरिएको छ।
अन्तर्राष्ट्रिय उडानमा पनि समस्या देखिएको छ। नेपाल एयरलाइन्सको विमान नयाँदिल्ली डाइभर्ट भएको छ। इण्डिगो एयर नयाँदिल्ली र एयर इण्डिया लखनऊ डाइभर्ट गरिएको छ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भिजिबिलिटी हाल २,५०० मिटर रहेको प्रवक्ता शेर्पाले बताए। इनरुट वेदर खराबीका कारण आन्तरिक उडान प्रभावित भएको छ।
जल तथा मौसम विज्ञान विभागका अनुसार, बङ्गालको खाडीमा विकसित चक्रवात ‘मोन्था’ कात्तिक ११ गते भारतको आन्द्र प्रदेशमा प्रवेश गरेको थियो। यसले विस्तारै कमजोर हुँदै नेपालतर्फ सर्दै बाग्मती, मधेस र कोशी प्रदेशको मौसम प्रभावित बनाएको छ।
महाशाखाले मधेस र कोशी प्रदेशका अधिकांश स्थानमा मध्यम वर्षा, केही स्थानमा भारी वर्षाको सम्भावना रहेको र आवश्यक सतर्कता अपनाउन सबैमा अनुरोध गरेको छ।