काठमाडौँ, १३ कात्तिक।
आइसिसी विश्वकप लिग–२ अन्तर्गत आफ्नो पाँचौँ त्रिकोणात्मक एकदिवसीय शृङ्खलामा नेपाल घरेलु टोली संयुक्त अरब इमिरेट्स (युएई) सँग पराजित भएको छ । दुबई अन्तरराष्ट्रिय क्रिकेट मैदानमा आज भएको खेलमा नेपाल युएईसँग पाँच विकेटले पराजित भएको हो ।
नेपालले प्रस्तुत गरेको २३४ रनको लक्ष्य पछ्याएको युएईले ४३ दशमलव ३ ओभरमा पाँच विकेट गुमाउँदै पूरा ग¥यो । युएईका लागि आर्यन्श शर्माले ९८ बलमा १० चौका र तीन छक्काको मद्दतले सर्वाधिक ९८ रन बनाए । त्यसैगरी अलिसान सराफुले ४५, मोहम्मद वासिमले २६, ध्रुव परासरले अविजित १६, कप्तान राहुल चोपाराले १५, हर्षित कौशिकले १३ र जाहिद अलीले अविजित ११ रन बनाए ।
नेपालका लागि सन्दीप लामिछानेले दुई विकेट लिँदा करण केसी र दीपेन्द्रसिंह ऐरीले समान एक एक विकेट लिए । त्यसअघि टस जितेर ब्याटिङ रोजेको नेपालले निर्धारित ५० ओभरमा सबै विकेट गुमाउँदै २३३ रनको योगफल बनाएको थियो । नेपालका लागि कप्तान रोहित पौडेलले १३० बलमा पाँच चौका र दुई छक्काको मद्दतले सर्वाधिक १०९ रनको योगदान गरे ।
यसैगरी आसिफ शेखले ३५, आरिफ शेखले २७, दीपेन्द्रसिंह ऐरीले २३ तथा करण केसीले १३ रन बनाए । युएईका लागि जाहिद अलीले चार विकेट लिए भने जुनैद सिद्धिकीले तीन तथा मोहम्मद रोहिद र हैदर अलीले समान एक/एक विकेट लिए । जारी शृङ्खलामा नेपालको यो लगातार दोस्रो हार हो ।
यसअघि भएको पहिलो खेलमा नेपाल अमेरिकासँग १०६ रनले पराजित भएको थियो । यस हारसँगै १८ खेलमा १२ अङ्क जोडेको नेपाल सातौँ स्थानमा छ । त्यस्तै यस जितसँगै युएई समान खेलबाट आठ अङ्कका साथ अन्तिम स्थानमा छ ।