झापा, कात्तिक १४ ।
बंगालको खाडीमा विकसित चक्रवात ‘मोन्था’ ले ल्याएको लगातार वर्षाका कारण एलभिडी प्रथम झापा महिला गोल्डकप फुटबल प्रतियोगिता दुई दिन पछाडि सरेको छ । तर, वर्षाको यो चुनौतीले प्रतियोगिताको जोश र तयारी भने घटाएको छैन ।आयोजकले अझ उत्कृष्ट ढंगले प्रतियोगिता सुरु गर्ने तयारी अन्तिम चरणमा पुर्याएको छ ।
सचिवालय प्रमुख हिमाल खरेलका अनुसार कात्तिक १५ गते उद्घाटन हुने भनिएको प्रतियोगिता अब कात्तिक १७ गते सोमबारबाट सुरु हुनेछ । पहिलो खेलमा नेपाल पुलिस क्लब र चर्च ब्वाइज युनाइटेडबीच प्रतिस्पर्धा हुनेछ ।
त्यसपछि कात्तिक १८ गते नेपाल एपिएफ क्लब र भारतको सिक्किम सिङ्लिङ स्पोर्टिङ क्लब, कात्तिक १९ गते संकटा क्लब र झापा फुटबल क्लब, र कात्तिक २० गते त्रिभुवन आर्मी क्लब र आरएस पोखरा क्लबबीच खेल हुने तालिका तय गरिएको छ । सेमिफाइनल खेलहरू क्रमशः कात्तिक २१ र २२ गते, र फाइनल खेल कात्तिक २४ गते हुनेछ ।
प्रतियोगिता हुने शिवसताक्षीस्थित दुधे रंगशाला पूर्णरूपमा तयार गरिएको छ । स्थायी प्यारापिटमा तीन हजार दर्शकका लागि कुर्सी जडान गरिएको छ भने बाँसको अस्थायी प्यारापिटले करिब १० हजार दर्शकलाई समेट्नेछ । अतिथि र विशेष पाहुनाका लागि छुट्टै ३०० कुर्सीको व्यवस्था गरिएको छ । आयोजक समितिका अध्यक्ष सन्तोष थोप्राका अनुसार, ‘‘वर्षाको कारण मिति परिवर्तन भए पनि तयारी र जोशमा कुनै कमी छैन । यो प्रतियोगिता महिलाको फुटबल इतिहासमै सबैभन्दा भव्य र व्यवस्थित हुनेछ ।’’
प्रतियोगिताको विजेता टिमलाई नगद १० लाख १० हजार रुपैयाँ, उपविजेतालाई पाँच लाख रुपैयाँ, र सर्वोत्कृष्ट खेलाडीलाई डेढ लाख रुपैयाँ पुरस्कार दिइनेछ । त्यस्तै, उत्कृष्ट गोलकिपर, डिफेन्डर, मिडफिल्डर, फरवार्ड, प्रशिक्षक, उदीयमान खेलाडी र उच्च गोलकर्ताले २५–२५ हजार रुपैयाँ, र प्रत्येक खेलको “प्लेयर अफ द म्याच” लाई १५ हजार रुपैयाँ र ट्रफी प्रदान गरिनेछ ।
यो वर्षको झापा महिला गोल्डकपमा आठवटा टिम — नेपालका प्रमुख क्लबहरूका साथै भारतको सिङ्लिङ स्पोर्टिङ क्लब — बीच प्रतिस्पर्धा हुनेछ । महिला फुटबललाई जरा स्तरदेखि सुदृढ बनाउने र खेलाडीलाई प्रेरणा दिने उद्देश्यका साथ प्रतियोगिता आयोजना गरिएको आयोजकले जनाएको छ ।