झापा, कार्तिक १४ ।
लागुऔषध कारोबारमा प्रत्यक्ष संलग्न समूहद्वारा झापा शिवसताक्षी नगरपालिका–१० माइधारका सरोज शर्माको हत्या भएको खुलेको छ। पूर्व–पश्चिम हुलाकी राजमार्गअन्तर्गत झापा गाउँपालिका–५ मा पर्ने विरिङ खोलाको पुलमुनि गाडिएको अवस्थामा शनिबार बिहान प्रहरीले मृतकको शव फेला पारेको थियो।
जिल्ला प्रहरी कार्यालय झापाका डीएसपी खगेन्द्रबहादुर खड्काका अनुसार शर्मा गत कात्तिक ९ गतेदेखि बेपत्ता थिए। पाँच दिनपछि मेचीनगर–१३ हातेमालो सामुदायिक वनभित्र उनको बाग्मती प्रदेश–०१–०३ च ७१९४ नम्बरको कार जलेको अवस्थामा भेटिएको थियो। कार भेटिएको स्थानबाट शव फेला परेको ठाउँ करिब २० किलोमिटर टाढा रहेको प्रहरीले जनाएको छ।
घटनामा संलग्न भएको आरोपमा दुई जना पक्राउ परेका छन् भने अन्य पनि संलग्न हुनसक्ने प्रहरीको प्रारम्भिक निष्कर्ष छ। पक्राउ परेकामध्ये एक जनाको हात जलिएको पाइएको छ, जसले कार जलाउँदा आगोले हात डढेको अनुमान गरिएको छ। ३३ वर्षीय शर्मा आईटी व्यवसायमा संलग्न रहेका र काठमाडौंमा बसोबास गर्दै आएका थिए।
दसैं–तिहार मनाउन घर आएका उनी छठ पर्वपछि काठमाडौं फर्कने तयारीमा थिए। तर छठकै बेला बेपत्ता भएका शर्माको शव पुलमुनि टिनले छोपेर गाडिएको अवस्थामा भेटिएको हो। शवको अवस्था हेर्दा हत्या ३–४ दिनअघि नै गरिएको देखिएको प्रहरीले जनाएको छ। हत्या किन र कसरी भयो भन्नेबारे प्रहरीले अहिलेसम्म पुष्टि गर्न सकेको छैन। तर प्रारम्भिक अनुसन्धान अनुसार पक्राउ परेका व्यक्तिहरू लागुऔषध कारोबारमा प्रत्यक्ष संलग्न रहेको खुलेको छ। घटनापछि स्थानीय आक्रोशित बनेका छन्।
हत्यामा संलग्न भएको आशंकामा पक्राउ परेका राहुल साहको घरमा भीडले तोडफोड गरेको छ। साथै, मृतकको शव बोक्न प्रयोग भएको आशंकामा माइधारमा रहेको एउटा टेम्पो पनि तोडफोड गरिएको प्रहरीले जनाएको छ। स्थानीयका अनुसार मृतक शर्मा र पक्राउ परेका मध्ये एक जना नजिकका छिमेकी हुन्। उनीहरूबीच पुरानो चिनजान थियो। स्थानीयको अनुमानमा शर्मा बेपत्ता भएको दिनमै उनको हत्या गरिएको हो, किनभने शव गनाउने र सड्ने अवस्थामा फेला परेको थियो।
प्रहरीले भने अनुसन्धान जारी रहेको बताएको छ। डीएसपी खड्काका शब्दमा, “घटनाको सम्पूर्ण विवरण खुलिसकेको छैन, तर पक्राउ परेकाहरुबाट जानकारी संकलन भइरहेको छ।”