तेह्रथुम, १६ कात्तिक।
नेपालको अर्थतन्त्रलाई बलियो बनाउने एक खम्बा हो, कृषि । बहुसङ्ख्यक नेपाली कृषिमै निर्भर छन् । पछिल्लो समय धेरै व्यक्ति कृषि क्षेत्रबाट विमुख हुँदै गएका छन् । खासगरी युवा पुस्ताले कृषि क्षेत्रलाई अँगाल्न छाड्दै गएका छन् । वैदेशिक रोजगारी र बसाइँसराइले गाउँका कैयौँ खेतीयोग्य जमिन बाझिँदै गएका छन् । यद्यपि, तेह्रथुमको म्याङलुङ नगरपालिका–६ मेक्चानाका तिलबहादुर श्रेष्ठ र कुष्णकुमार श्रेष्ठको कृषिकर्म भने जिल्लामै उदाहरणीय छ । पछिल्लो समय गाउँमा सम्भावना छैन भन्दै विदेश पलायन हुने र गाउँघर छाडेर सहर बजार क्षेत्रमा बसाइँ सर्ने प्रवृत्ति बढ्दा खेतीयोग्य जमिन बाँझिँदै गएका छन् । म्याङलुङ नगरपालिका–६ मेक्चानाका ५३ वर्षीय कृष्णकुमार र ५६ वर्षीय तिलबहादुर श्रेष्ठले कृषि पेसा अँगालेर गाउँमै लोभलाग्दो आम्दानी गरिरहनुभएको छ ।
श्रेष्ठ कृषि फार्म खोलेर व्यावसायिक तरकारीखेती गर्दै आउनुभएका तिलबहादुर श्रेष्ठले वार्षिक लाखौँ आम्दानी गर्ने बताउनुभयो । लगानी र आफ्नो निमेक काटेर वार्षिक रु ११ लाख बच्ने गरेको उहाँले सुनाउनुुभयो । ‘गर्नेलाई जहीँतहीँ, नगर्नेलाई कहीँ न कहीँ’ भनेझैँ गाउँकै जमिनमा व्यावसायिक रूपले तरकारीखेती गरेर श्रेष्ठले मनग्य आर्थिक उपार्जन गरिरहनुभएको हो । उहाँले आफ्नै ३० रोपनी र भाडामा लिएको गरी ४२ रोपनीमा तरकारीखेती गर्दैआउनुभएको छ । उहाँले बारीमा मौसम र बेमौसमका सागसब्जी लगाउने गरेको बताउनुभयो । यसमा काक्रा, घिरौला, बैगुन, स्क्वास फर्सी, करेला, सिमी, क्याप्सिकन, आलु, अकबरे खुर्सानीलगायतका तरकारी बाली छन् । करिब डेढ दशकअघि तिलबहादुरले कृषि फार्म दर्ता गरेर व्यावसायिक रूपमा तरकारीखेती गर्दै आउनुभएको हो । उहाँ मौसमी र बेमौसमी दुवै किसिमको तरकारीखेती गर्नुहुन्छ । उहाँको कृषि फार्म विशेषतः अकबरे खुर्सानीका लागि प्रख्यात छ । बट्टामा अकबरे खुर्सानीको अचारसमेत बिक्री गर्ने उहाँले यस वर्ष ११ रोपनीमा अकबरे खुर्सानीमात्र लगाउनुभयो भने आगामी वर्ष त्यसलाई बढाएर ३० रोपनी पुर्याउने लक्ष्य रहेको बताउनुभयो । “यो वर्ष अकबरे ३० क्विन्टल बेचिसकेँ, अब मङ्सिरको पहिलो सातासम्ममा १० क्विन्टल जति निस्किन्छ”, आलु रोप्न खेतालासँगै बारीमा माटो तयार गरिरहेका तिलबहादुरले भन्नुभयो । तिलबहादुरसँगै छिमेकी कृष्णकुमार श्रेष्ठले पनि कृषि कर्मबाट पर्याप्त आम्दानी गर्दै आउनुभएको छ । परम्परागत खाद्यान्न बालीसँगै व्यावसायिक पशुपालन र कृषि पेसामा रमाइरहनुभएका कृष्णकुमारले गत वर्ष रु २५ लाख आम्दानी भएको बताउनुभयो । विसं २०६९ मा रङ्गेली कृषि फार्म दर्ता गरी ३२ रोपनी क्षेत्रफलमा तरकारीखेतीमात्र लगाउनुभएका उहाँले पनि अकबरे खुर्सानीलाई विशेष प्राथमिकता दिनुभएको छ ।
यो याममा हालसम्ममा एक हजार दुई सय किलो अकबरे खुर्सानी बेचिसक्नुभएका उहाँले पछिल्लो याममा रोपेको अकबरेले अहिले फल दिइरहेको बताउनुभयो । वैशाखमा रोपिएका लोकल र इलामे लोकल जातको अकबरे खुर्सानी बेचिसकिएको र साउनमा रोपिएका बिरुवाले अब मङ्सिरसम्म उत्पादन दिने श्रेष्ठले बताउनुभयो । नातामा दाजुभाइ पर्ने श्रेष्ठद्वयले उत्पादित कृषि उपज करिब चार किलोमिटरको दूरीमा रहेको तेह्रथुम सदरमुकाम म्याङलुङ बजारको शुक्रबारे र मङ्गलबारे हटिया अनि एक किलोमिटरको दूरीमा रहेको जिरी बजारको सोमबारे हटियामा बेच्दै आउनुभएको छ । कतिपय व्यापारी र ग्राहक घरैमा समेत पुग्ने गरेका छन् । अकबरे खुर्सानी धरान, इटहरीलगायत तराईका बजारसम्म पनि खपत हुने गरेको कृष्णकुमारले बताउनुभयो । श्रेष्ठद्वयले मल्चिङ प्लाष्टिकको प्रयोग गरेर तरकारीखेती गर्दै आएका छन् । मल्चिङ प्लाष्टिकको प्रयोगले लागत घटाउने उहाँहरूको अनुभव छ । बेमौसमी तरकारीका लागि भने टनेलको प्रयोग गर्नुपर्ने उहाँहरूले बताउनुभयो । पशुपालन तथा तरकारीखेतीलाई एकैसाथ बढाउँदा मलखादको व्यवस्थापन गर्न सहज भएको उहाँहरूले सुनाउनुभयो । यो क्षेत्रकै अगुवा किसानका रूपमा श्रेष्ठद्वयलाई कृषि ज्ञान केन्द्र, नगरपालिका, घरेलु तथा सानो उद्योग कार्यालयले समेत अनुदान, उपकरण र तालिमलगायतका सहयोग प्रदान गर्दैआएको छ । तिलबहादुरको श्रेष्ठ कृषि फार्म र कृष्णकुमारको रङ्गेली कृषि फार्मलाई कृषि ज्ञान केन्द्रले आर्थिक वर्ष २०८०÷८१ मा तरकारी बालीमा नमूना फार्म स्थापनाका लागि रु तीन–तीन लाख अनुदान प्रदान गरेको केन्द्रका निमित्त प्रमुख विशाल राईले बताउनुभयो । उहाँका अनुसार कृषि ज्ञान केन्द्रको धनकुटा तेह्रथुम कार्यक्षेत्र रहेका बेलामा समेत धनकुटाबाट पनि प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनामार्फत उहाँहरूको तरकारी बालीको ब्लक विकास सञ्चालन गरिएको थियो ।
कृष्णकुमार र तिलबहादुरको लामो समयदेखि जिल्लामा ताजा तरकारी उत्पादनमा योगदान रहेकाले उहाँहरुले तत्कालीन कृषि विकास कार्यालयमार्फत पनि विभिन्न अनुदान प्रदान गरिएको देखिएको प्रमुख राईले बताउनुभयो । परम्परागत कृषिखेती गरिरहनुभएका श्रेष्ठद्वयले २०५८ सालमा खोलाखेत बाढीले बगाएपछि तत्कालीन गाउँ विकास समितिबाट राहतमा पाएको काक्रो, भिन्डी, लौका, स्क्वास फर्सीको थोरै बीउबिजनबाट तरकारीखेतीमा हात हालेका थिए । एउटा गरा बारीबाट सुरु भएको उहाँहरुको तरकारीखेती थुप्रै रोपनीमा विस्तार भई लाखौँ आम्दानी दिन सफल हुँदा तिलबहादुर र कृष्णकुमार खुसी हुनुहुन्छ । पौरख गर्न सके गाउँघरमै कृषि पेसाबाट मनग्य कमाइ गर्न सकिने उदाहरण बन्नुभएका उहाँहरू बेरोजगार युवालाई इलम गरेर स्वरोजगार बन्न आग्रह गर्नुहुन्छ ।