झापा,१७ कात्तिक।
झापाको शिवसताक्षी नगर आजदेखि राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमा परिचित हुने भएको छ। एलभिडी झापा महिला गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिता–२०८२ सुरुसँगै शिवसताक्षी नगरले खेलकुद पर्यटनको नयाँ अध्याय सुरु गरेको हो।
पहिलोपटक आयोजना हुन लागेको यो भव्य प्रतियोगिता शिवसताक्षीको गौरवका रूपमा दुधे रंगशालामा आज (कात्तिक १७ गते)देखि सुरु भएको छ। उद्घाटन खेलमा नेपाल पुलिस क्लब र चर्च ब्वाइज युनाइटेडबीच प्रतिस्पर्धा हुनेछ। नेपालकै सर्वाधिक पुरस्कार राशीको महिला फुटबल प्रतियोगिताको रूपमा रहेको झापा महिला गोल्डकपले नगरलाई देशैभरका खेलप्रेमीको ध्यान केन्द्रित गराएको छ। वर्षाको कारण दुई दिन ढिलाइ भए पनि शिवसताक्षीको वातावरणमा अहिले खेलप्रेमीको जोश उत्साह चुलिएको छ।
तीन हजार दर्शक क्षमताको स्थायी प्यारापिटमा कुर्सी जडान गरिएको दुधे रंगशालामा करिब १० हजार दर्शक अट्ने अस्थायी बाँसको प्यारापिट समेत तयार गरिएको छ। नगरको पहल, स्थानीय निकाय र युवाको उत्साहपूर्ण सहभागिताले मैदान भव्य रूप पाएको छ। आयोजक समितिका अध्यक्ष सन्तोष थोप्राका अनुसार, “शिवसताक्षीलाई खेलकुदको सहर बनाउने सपना अब साकार हुँदैछ।” आजको खेलमा पुजा राना, रेखा पौडेललगायत राष्ट्रिय महिला फुटबल टिमका चर्चित खेलाडीहरू मैदानमा देखिने छन्। जसले झापाका दर्शकलाई राष्ट्रिय स्तरको प्रदर्शन आफ्नै नगरमा हेर्ने अवसर दिलाउनेछ।
शिवसताक्षी नगरपालिकाले प्रतियोगिता सफल बनाउन प्राविधिक, सुरक्षात्मक र आतिथ्य पक्षमा विशेष ध्यान दिएको छ। नगरका सडक, सरसफाइ, बत्ती र यातायात व्यवस्थापनलाई प्राथमिकतामा राखिएको छ। नगर प्रमुखदेखि स्थानीय युवासम्म सबैले यो प्रतियोगितालाई नगरको पहिचानसँग जोडेर ‘गौरवको उत्सव’का रूपमा मनाइरहेका छन्। प्रतियोगितामा आठ टिम सहभागी छन्। दोस्रो खेल कात्तिक १८ गते नेपाल एपीएफ क्लब र भारतको सिङ्लिङ स्पोर्टिङ क्लबबीच हुनेछ भने फाइनल खेल कात्तिक २४ गतेका लागि तय गरिएको छ।
विजेता टिमले रु. १० लाख १० हजार, उपविजेताले रु. ५ लाख, सर्वोत्कृष्ट खेलाडीले रु. १ लाख ५० हजारसहित अन्य सात विधामा उत्कृष्ट खेलाडीहरूलाई जनही रु. २५ हजार पुरस्कार प्रदान गरिनेछ।
प्रतियोगिताका सचिवालय प्रमुख हिमाल खरेलका अनुसार, 'यो खेल प्रतियोगिता होइन, शिवसताक्षी नगरको प्रतिष्ठा र महिला सशक्तीकरणको प्रतीक हो।' एलभिडी झापा महिला गोल्डकपले शिवसताक्षीलाई महिला खेलकुदको केन्द्र र नयाँ सम्भावनाको भूमिमा रूपान्तरण गर्ने अपेक्षा गरिएको छ। शिवशताक्षी नगरपालिकाले मात्र प्रतियोगिता सम्पन्नका लागि २० लाख ७५ हजार आर्थिक सहयोग गरेको आर्थिक प्रशासन शाखाका प्रमुख प्रकाश योङहाङले बताए। 'यो प्रतियोगिता ले नगरलाई खेल पर्यटनमा सघाउ पुर्याउनेछ ।' उनले भने