काठमाडौं ।
अब राजधानीका विभिन्न १९ सार्वजनिक स्थानमा निःशुल्क वाइफाइ इन्टरनेट सेवा प्रयोग गर्न सकिने भएको छ। सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलको पहलमा अस्पताल, पशुपतिनाथ मन्दिर क्षेत्र, विमानस्थल र अन्य सार्वजनिक सेवा प्रवाह हुने स्थानमा निःशुल्क वाइफाइ सेवा विस्तार गरिएको हो।
मन्त्रालयका अनुसार नयाँ बसपार्क, भक्तपुर अस्पताल, कीर्तिपुर अस्पताल, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थललगायतका स्थानमा नयाँ वाइफाइ जडान र क्षमता वृद्धि गरिएको छ। साथै, ठूलोभर्याङ, एकान्तकुना र भक्तपुरका यातायात कार्यालयमा पनि सेवा स्थापना कार्य जारी रहेको बताइएको छ।
नेपाल टेलिकम, वल्र्डलिङ्क र भायनेट कम्पनीले संयुक्त रूपमा यो सेवा सञ्चालन गरेका छन्। यसअघि वीर अस्पताल, टेकु, पाटन, सिभिल, गङ्गालाल र पशुपति मन्दिर क्षेत्रमा उपलब्ध १० एमबिपिएस वाइफाइ सेवा अहिले १५० एमबिपिएस ब्याण्डविथमा उन्नत गरिएको मन्त्रालयले जनाएको छ।
मन्त्री खरेलको सक्रियतामा नेपाल दूरसञ्चार प्राधिकरणको समन्वयमा उपत्यकाबाहेक बाहिरका १० प्रमुख सहरमा पनि निःशुल्क वाइफाइ विस्तारको तयारी अघि बढाइएको छ।