काठमाडौं।
नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पार्टीको १५औँ महाधिवेशन अब ढिलो नगरी सम्पन्न गर्नुपर्ने बताएका छन्। उनले नियमित महाधिवेशन गर्न नसके विशेष महाधिवेशन गर्नुको विकल्प नभएको बताएका हुन्।
केन्द्रीय समितिको बैठकमा महाधिवेशनको कार्यतालिका पेस गर्दै थापाले पार्टीलाई नयाँ जीवन दिन महाधिवेशन अपरिहार्य भएको बताए। उनका अनुसार, पार्टीलाई पुनर्जीवित गर्न र जनताको विश्वास फिर्ता ल्याउनका लागि नेतृत्वले साहसिक निर्णय गर्नुपर्ने समय आएको छ।
थापाले भने, “विगतमा मैले पोखरामा नेविसंघको अधिवेशन नभएपछि चितवनमा त्यो अवस्था दोहोरिन नहोस् भनेर अध्यक्ष पदमा प्रतिस्पर्धा नगर्ने घोषणा गरेको कुरा यहाँहरू सबैलाई थाहा छ। म पार्टीलाई बीपी कोइरालाले भनेको जस्तो इतिहासको गतिशील औजार बनाउन चाहन्छु र त्यसका लागि सबै कुरा कुर्बान गर्न तयार छु।”
उनले अर्का महामन्त्री विश्वप्रकाश शर्मासँग मिलेर पार्टीभित्र सहमति जुटाउने प्रयास भइरहेको उल्लेख गरे। “हामी दुई महामन्त्रीको बुझाइ एउटै हो — महाधिवेशन नगरी जानु भनेको पार्टीलाई प्रश्नै प्रश्नले घेर्नु हो। त्यसैले हामी तयार छौँ — यदि सर्त राखियो कि हामी दुईजनाले कुनै पदमा उम्मेदवारी दिन नपाउने, त्यसरी पनि महाधिवेशन गर्न तयार छौँ,” थापाले चुनौतीपूर्ण स्वरमा भने।
उनले पार्टी नेतृत्वलाई आग्रह गर्दै भने, “अब ढिलो गर्ने बेला छैन। यदि हामीले अहिले हिम्मत देखायौँ, युगको आवाज सुनेर निर्णय गर्यौँ भने कांग्रेस फेरि जनताको विश्वास जित्न सक्छ — नयाँ रूप, नयाँ सोच र नयाँ लक्ष्यसहित।”
थापाले अहिलेको अवस्था विशेष र असामान्य भएको दाबी गर्दै नेपाली कांग्रेसको विधानको धारा १७(१) र १७(२) अनुसार विशेष केन्द्रीय महाधिवेशन गर्नुपर्नेमा जोड दिए। उनका अनुसार, “विशेष केन्द्रीय महाधिवेशनको माग गर्दै ५५ प्रतिशत महाधिवेशन प्रतिनिधिले केन्द्रीय समितिमा निवेदन दिइसकेका छन्। त्यसैले यही बैठकबाट मंसिर मसान्तभित्र विशेष केन्द्रीय महाधिवेशन गर्ने निर्णय लिनुपर्छ।”
थापाले अन्त्यमा भने, “यदि हामी डरायौँ भने, इतिहासले हामीलाई दुत्कार्नेछ। हामी त्यो असफल पुस्ता बन्ने सुविधा पाउँदैनौँ। त्यसैले अब निर्णायक कदम चालौं, कांग्रेसलाई फेरि जनताको पार्टी बनाऔँ।”