काठमाडौँ –
शिख सम्प्रदायका प्रवर्तक तथा मानवतावादी चिन्तक गुरु नानकदेवको ५५६औँ जन्मजयन्ती आज देशभरका गुरुद्वाराहरूमा विविध धार्मिक तथा सामाजिक कार्यक्रम आयोजना गरी श्रद्धा र भक्तिपूर्वक मनाइँदैछ।
प्रत्येक वर्ष कार्तिक शुक्ल पूर्णिमाका दिन गुरु नानकको जन्मजयन्ती मनाउने परम्परा रही आएको छ। गुरु नानकदेवको जन्म विसं १५२६ कार्तिक शुक्ल पूर्णिमाका दिन पाकिस्तानको पञ्जाब प्रान्तस्थित तलवण्डी (हालको ननकाना साहिब) मा भएको थियो।
गुरु नानकले जातिवाद, भेदभाव र अन्धविश्वासको विरोध गर्दै आपसी प्रेम, सहिष्णुता र मानवतामूलक दर्शनको प्रचार गरे। उनले शिख धर्मको पवित्र ग्रन्थ ‘गुरु ग्रन्थ साहिब’को रचना गरी समाजमा समानता र सेवालाई सर्वोच्च धर्मका रूपमा स्थापित गरे।
जन्मजयन्तीको अवसरमा बिहानैदेखि गुरुद्वाराहरूमा ‘प्रभात फेरी’ गरी गुरु नानकको महिमा वर्णन गर्दै भजन–कीर्तन गाइन्छ। यसरी बिहान गरिने भजनलाई ‘असा दी वार’ भनिन्छ। भक्तजनहरूले ‘अमृत बेला’ नामक सामूहिक भेला गरेर ध्यान र प्रार्थना गर्दछन्।
त्यसपछि गुरुद्वारामा ‘लङ्गर’ अर्थात् नि:शुल्क सामुदायिक भोजनको आयोजना गरिन्छ, जसमा जात, वर्ण, लिंग वा समुदायको कुनै भेदभाव बिना सबैले सहभागी हुने परम्परा रहेको छ। यो प्रथा सामाजिक सहिष्णुता र समानताको प्रतीकका रूपमा मनाइन्छ।
गुरु पर्वअघि दुई दिनदेखि निरन्तर ४८ घण्टासम्म ‘गुरु ग्रन्थ साहिब’को वाचन गरी ‘अखण्ड पाठ’ सम्पन्न गरिन्छ। धार्मिक विधिपूर्वक समापन गरी आजको दिन विशेष पूजा, भजन–कीर्तन र सामुदायिक सेवालगायत कार्यक्रमहरू आयोजना गरिँदैछ।
गुरु नानकको सन्देश “ईश्वर एक छन्, उनी सर्वशक्तिमान् हुन्, यही नै सत्य हो” भन्ने आज पनि समानता, शान्ति र मानवताको प्रतीकका रूपमा संसारभर गुञ्जिरहेको छ।