काठमाडौं।
नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक आज (बिहीबार) पनि बस्दैछ। बैठक बिहान ११:३० बजे पार्टीको केन्द्रीय कार्यालय सानेपामा बस्ने मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिएका छन्।
मंगलबारको बैठकमा महामन्त्री गगन थापाले आगामी महाधिवेशनको कार्यतालिका पेश गरेपछि त्यसबारे नेताहरुबीच विस्तृत छलफल जारी छ। कार्यतालिकामाथि सहमति नजुटेकै कारण बैठक निरन्तर लम्बिँदै गएको हो।
बुधबारको बैठकमा सहमहामन्त्री फरमूल्लाह मन्सुर, केन्द्रीय सदस्यहरू प्रकाशमान सिंह, पद्मनारायण चौधरी, जीवनबहादुर शाही, सुरेन्द्रराज पाण्डे, शंकर भण्डारी, कृष्णकिशोर घिमिरे, तारामान गुरुङ, आङ्गेलु शेर्पा, मदनबहादुर अमात्य, चन्द्रबहादुर के.सी., अब्दुल सत्तार, उदयशम्शेर राणा, अञ्जनी श्रेष्ठ, चम्पादेवी खड्का, जावेदा खातुन जागा, प्रा.डा. गोविन्दराज पोखरेल, अजयबाबु शिवाकोटी, माया राई, सुशीला ढकाल (आचार्य), गंगा शाही र सितादेवी देवकोटाले आफ्ना धारणा राखेका थिए।
बैठकमा धेरै नेताहरूले महाधिवेशनको तयारी, संगठन सुदृढीकरण र नेतृत्व चयन प्रक्रियामा पारदर्शिता सुनिश्चित गर्न जोड दिएका छन्। कार्यतालिकाबारे सहमति बनेपछि मात्र आगामी चरणको तयारी अघि बढाइने कांग्रेस स्रोतले जनाएको छ।