काठमाडौँ।
जेन्जी मुभमेन्ट नेपालले देशमा स्थायित्व र सुशासनका लागि ‘निर्णायक संघर्ष’ सुरु गर्ने घोषणा गरेको छ। कीर्तिपुरमा सम्पन्न आकस्मिक भेलाले विद्रोहका प्रमुख मुद्दाहरू अपहरण गरिएको र नयाँ पुस्ताको बलिदानलाई राजनीतिक स्वार्थमा रूपान्तरण गरिएको आरोप लगाउँदै आन्दोलनको नयाँ चरण सुरु गर्ने निर्णय गरेको हो।
भेलाले प्रधानमन्त्री सुशीला कार्की नेतृत्वमाथि तीव्र आलोचना गर्दै सरकारलाई “सत्ता कु को उपज” भनेको छ। मुभमेन्टले वक्तव्यमार्फत जनाएको छ, “कार्कीहरूले बलिदानको नाममा सत्ता कब्जा गरेका छन्। यो आन्दोलनका सहिदहरूप्रति गरिएको विश्वासघात हो।”
मुभमेन्टका प्रवक्ता विजय शाहले भने, “यो देशको नयाँ पुस्ताले केवल प्रतीकात्मक परिवर्तन होइन, संरचनात्मक रूपान्तरण खोजेको हो। प्रत्यक्ष निर्वाचित कार्यकारी प्रणाली र सार्वजनिक संस्थाहरूको पुनरसंरचना बिना स्थायित्व र सुशासन सम्भव छैन।”
भेलाले प्रत्यक्ष कार्यकारी प्रणाली र संस्थागत पुनरसंरचना सुनिश्चित नभएसम्म संघर्ष जारी राख्ने घोषणा गरेको छ। साथै, आन्दोलनलाई “शान्तिपूर्ण तर निर्णायक” बनाउने प्रतिबद्धता जनाएको छ।
जेन्जी मुभमेन्टले देशभरका युवाहरू, नागरिक समाज र सचेत वर्गलाई पुनः एकताबद्ध हुन आह्वान गर्दै भनेको छ, “हाम्रो बलिदान इतिहासको प्रतीक होइन, भविष्यको दिशा हो। यो पुस्ताले सत्य र परिवर्तनका लागि अन्तिमसम्म संघर्ष गर्नेछ।”
आन्दोलनका अगुवा अजय सोडारीले नयाँ पुस्ताले सुरु गरेको विद्रोहका मुद्दाहरूलाई संस्थागत गर्न सबै पक्ष मिलेर अघि बढ्नुपर्नेमा जोड दिएका छन्।
भेलामा आन्दोलनका आगामी चरण, जनसंपर्क विस्तार, र राष्ट्रिय समन्वय समिति गठनबारे विस्तृत छलफल भएको बताइएको छ। मुभमेन्टले निकट भविष्यमै देशव्यापी अभियान सुरु गर्ने तयारी गर्दै काठमाडौँमा कार्तिक २३ गते ‘जेन्जी सभा’ आयोजना गर्ने निर्णय गरेको छ।