अत्तरिया, कैलाली ।
गोदावरी नगरपालिका अन्तर्गत पर्ने अत्तरिया बजार क्षेत्रमा सडक नालीहरूको व्यापक सरसफाइ अभियान सुरु गरिएको छ। पछिल्लो समय नालीहरूमा फोहोर र लेदो जमेर पानी निकासमा समस्या देखिएपछि नगरपालिकाले सोमबार बिहानदेखि डोजर, टिप्पर लगायतका उपकरण प्रयोग गरी सरसफाइ कार्य तीव्र पारेको हो।
नालीमा प्लास्टिक, ढुंगा, इँटा तथा अन्य फोहोर पदार्थहरू थुप्रिँदा सानो वर्षामा पनि सडकमा पानी जम्ने समस्या उत्पन्न भइरहेको जनाइएको छ। यस समस्याको समाधानका लागि गोदावरी नगरपालिकाले विशेष सरसफाइ अभियान सञ्चालन गरेको हो।
सरसफाइ अभियानमा नगरप्रमुख बिरेन्द्र भट्टसहित कर्मचारी र जनप्रतिनिधिहरू सक्रिय सहभागी रहेका छन्। फोहोर व्यवस्थापन शाखाका इन्चार्ज प्रमल महराका अनुसार, बिहान र बेलुकाको समयमा नियमित फोहोर संकलनका लागि ट्याक्टर परिचालन गरिए पनि केही व्यापारीहरूले फोहोर नालीछेउ वा सडकमा फाल्ने प्रवृत्तिका कारण समस्या बढेको हो। यसले नाली जाम भएर दुर्गन्ध फैलाउने अवस्था सृजना गरेको उनले बताए।
नगरप्रमुख भट्टका अनुसार, अत्तरिया चोकदेखि दक्षिणतर्फको ६ लेन सडकखण्ड, अत्तरिया चौक र महेन्द्रनगर गल्लीसम्मका नालीहरूमा सरसफाइसँगै ढक्कन (कभर) राख्ने काम पनि सुरु गरिएको छ। सो कार्य सडक डिभिजन कार्यालय महेन्द्रनगरको सहकार्यमा भइरहेको हो।
भट्टले जानकारी दिएअनुसार, लटिनाथ कन्स्ट्रक्सनसँग करिब २३ लाख रुपैयाँमा सम्झौता गरी दुई महिनाभित्र ढक्कन राख्ने काम सम्पन्न गर्ने लक्ष्य राखिएको छ। हाल उक्त रकमले नालीमाथि ढक्कन राख्ने कार्य मात्रै गरिने र बाँकी संरचनागत सुधारका लागि आगामी दिनमा पुनः ठेक्का आह्वान गरिने उनले बताए।
नगरपालिकाले नियमित सरसफाइ र व्यवस्थापनमा ध्यान दिएसँगै अत्तरिया बजार क्षेत्रमा हुने नाली जाम र दुर्गन्धको समस्या क्रमशः घट्ने अपेक्षा गरिएको छ।