डडेल्धुरा ।
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले सुदूरपश्चिम मात्र होइन, समग्र देशलाई नै नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाको आवश्यकता रहेको बताएका छन्।
शुक्रबार डडेल्धुरामा आयोजित छलफल तथा अन्तरक्रिया कार्यक्रममा बोल्दै मुख्यमन्त्री शाहले देउवालाई देशको नेतृत्वमा बारम्बार देखिनु समयको आवश्यकता भएको बताए। कार्यक्रममा डडेल्धुराका पालिका प्रमुखहरू, संघ, प्रदेश र स्थानीय तहका कार्यालय प्रमुखहरू तथा सुरक्षा निकायका प्रतिनिधिहरूको उपस्थिति थियो।
मुख्यमन्त्री शाहले डडेल्धुरालाई “देशको पवित्र भूमि”को संज्ञा दिँदै भने, “यो भूमिले पाँच–पाँच पटक देशको नेतृत्व गर्ने शेरबहादुर देउवा जस्ता व्यक्तित्व जन्माएको छ।” उनले देउवाको राजनीतिक योगदानको प्रशंसा गर्दै भने, “शेरबहादुर देउवा सधैं जनताको अधिकारका लागि अग्रपंक्तिमा रहँदै संघर्ष गर्नुभएको छ। विगतका आन्दोलनहरूमा ज्यानमाथि खतरा हुँदा पनि उहाँ कहिल्यै विचलित हुनुभएन।”
शाहले प्रदेश सरकारको उपस्थिति र संवैधानिक निकायहरूको सक्रियता जनाउन विभिन्न जिल्लामा कार्यक्रम गरिरहेको जानकारी दिए। उनले भने, “सरकार र संविधान छँदैछ भन्ने सन्देश जनतामा पुगोस् भन्ने उद्देश्यले म विभिन्न जिल्लामा पुगेको हुँ।”
मुख्यमन्त्री शाहले हालैको जेन्जी आन्दोलनलाई “अकल्पनीय” भन्दै सबै पक्षले आत्मसमीक्षा गर्नुपर्ने आवश्यकता औंल्याए। उनका अनुसार, राजनीतिक र प्रशासनिक नेतृत्वबीच समन्वय र हातेमालो भए मात्र पारदर्शिता, सुशासन र विकास सम्भव हुन्छ।
सरकारको नीति र प्रतिबद्धता बारे बोल्दै शाहले भने, “मैले वाचा गरेअनुसार प्रदेश निजामती सेवा ऐन एक वर्षभित्र जारी गरेका छौं, र त्यसपछि स्थानीय सेवा सञ्चालनसम्बन्धी ऐन पनि ल्याएका छौं।” उनले भ्रष्टाचार नियन्त्रण र सुशासन कायम गर्नु आफ्नो सरकारको प्रमुख प्राथमिकता रहेको स्पष्ट पारे।