तनहुँ
व्यास नगरपालिकाले नकुहिने फोहर बिक्री गरेर चालु आर्थिक वर्षका पहिलो चार महिनामै रु ७ लाख आम्दानी गरेको छ। नगरपालिकाले विगतदेखि सङ्कलन गर्दै आएको प्लास्टिक, कपडा, फलाम र सिसाजन्य फोहरलाई सूक्ष्म वर्गीकरण गरी व्यवस्थित रूपमा बिक्री थाल्नासाथ आम्दानी बढेको हो।
प्रमुख प्रशासकीय अधिकृत सुकदेव लम्सालका अनुसार व्यास नगरपालिकाले दैनिक १५ टन नकुहिने र ७ टन कुहिने फोहर सङ्कलन गर्दै आएको छ। कुहिने फोहर व्यास–१० स्थित गौ संरक्षण केन्द्रमा व्यवस्थापन गरिँदै आएको छ भने नकुहिने फोहर वर्गीकरण गरी कार्यालय परिसरमै ‘बेलिङ’ मेसिनमार्फत थिचेर भण्डारण गरिन्छ।
लम्सालले भने, “व्यास नगरपालिका परिसरमा ‘बेलिङ’ मेसिन जडानपछि प्लास्टिक, फलाम, कागजलगायत सामग्रीलाई ठूलो आकारबाट दाबेर सानो आकारमा परिणत गरिरहेका छौँ। यसले भण्डारण र बिक्री दुवै प्रक्रियामा सहजता ल्याएको छ।”
नगरपालिकाको वन, वातावरण तथा सरसफाइ शाखाका अनुसार फोहरजन्य सामग्रीका दररेट यस्ता छन्—
यसअघि व्यास–३ मा मादी नदी किनारस्थित भतेरी क्षेत्रमा नकुहिने फोहर व्यवस्थापन भए पनि सम्झौता अवधि सकिएपछि नगरपालिकाले अस्थायी रूपमा कार्यालय परिसरमै व्यवस्थापन थालेको हो।
नकुहिने फोहरको दिगो व्यवस्थापनका लागि वडा नं १३ मा जग्गा खरिद प्रक्रिया अघि बढाइएको थियो। तर स्थानीय विरोधका कारण प्रक्रिया हाल स्थगित गरिएको नगरपालिकाले जनाएको छ।
व्यास नगर प्रमुख वैकुण्ठ न्यौपानेले नगरपालिकाले सरसफाइ क्षेत्रमा वर्षौंदेखि ठूलो रकम खर्च गर्दै आएको उल्लेख गर्दै भने, “अब फोहरलाई मोहरमा बदल्ने मोडेलले आम्दानीको नयाँ स्रोत खुलाएको छ। यसले नगरलाई दिगो फोहर व्यवस्थापनतर्फ अघि बढाएको छ।”