काठमाडौं,
सरकारले रक्षा सचिव सुमनराज अर्याललाई २९ औं मुख्यसचिव बनाउने निर्णय गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले अर्यालको बढुवाको निर्णय गरेको हो।
सरकारी स्रोतका अनुसार, प्रशासन सेवा तथ्याङ्क समूहका अर्यालले खुला प्रतिस्पर्धाबाट शाखा अधिकृत, आन्तरिक प्रतिस्पर्धाबाट उपसचिव र पुनः खुला प्रतिस्पर्धाबाट सहसचिवको पद उक्लेका थिए। उनी २०५३ सालमा अधिकृत, २०६६ सालमा उपसचिव, २०६८ सालमा सहसचिव र २०७७ साल माघमा सचिव बनेका थिए।
सुमन अर्याल कोशी प्रदेशको प्रमुख सचिव, महालेखा नियन्त्रक, महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालय, युवा तथा खेलकुद मन्त्रालयको सचिव र प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको जगेडामा काम गरिसकेका छन्। पछिल्लो समयमा उनी राष्ट्रिय योजना आयोग हुँदै रक्षा मन्त्रालयमा रहेर मुख्यसचिवको पदमा बढुवा भएका हुन्।
मुख्यसचिवको प्रतिस्पर्धामा प्रमिलादेवी शाक्य बज्राचार्य, मधुसुधन बुर्लाकोटी, कृष्णहरि पुष्कर कर्ण, रामप्रसाद घिमिरे लगायतका वरिष्ठ अधिकारीहरूसँग प्रतिस्पर्धा गरेका अर्याललाई प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको ‘जेन-जी’ सरकारले वरिष्ठता र कार्यकुशलताका आधारमा चयन गरेको हो।
सरकारले यसअघि प्रहरी महानिरीक्षक पदमा वरिष्ठताका आधारमा दानबहादुर कार्कीलाई बढुवा गरेको थियो र मुख्यसचिवको बढुवामा पनि सोही नजिर अपनाइएको छ।