तनहुँ
पर्यटकीय नगरका रूपमा स्थापित ‘पहाडकी रानी’ बन्दीपुरमा पछिल्लो समय विदेशी तथा आन्तरिक पर्यटकको आकर्षण तीव्र रूपमा बढेको छ। गत वर्षको वैशाखदेखि चालु आर्थिक वर्षको कात्तिकसम्म मात्र २१ हजार ७२५ जना विदेशी पर्यटकले बन्दीपुर भ्रमण गरेका छन्।
अस्थायी पर्यटक प्रहरी पोष्टका प्रमुख, प्रहरी सहायक निरीक्षक गोविन्द रानाका अनुसार पछिल्लो समय बन्दीपुर चिनियाँ नागरिकका लागि प्रमुख गन्तव्य बनेको छ। सात महिनामा मात्र ५ हजार ५१ जना चिनियाँ पर्यटक यस क्षेत्र घुम्न आएका छन्। उनका अनुसार चिनियाँ पर्यटक मुख्यतः घुमफिरका लागि आउने गरे पनि बसोबासका लागि भने पोखरा र चितवनतर्फ जाने प्रवृत्ति देखिन्छ।
आगन्तुक संख्या वैशाखमा ३,२९७, जेठमा ३,३४२, असारमा २,७६६, साउनमा २,०७५, भदौमा १,८३२, असोजमा ३,७८६ र कात्तिकमा ४,६२७ पुगेको तथ्याङ्क छ।
उता, आन्तरिक पर्यटन पनि उल्लेख्य रूपमा बढेको छ। सात महिनामा ३२ हजार ७६० जना नेपाली पर्यटक बन्दीपुर पुगेका छन्। केवल कात्तिक महिनामा मात्र १७ हजार ५८ जना आन्तरिक पर्यटक आगमन भएको छ। कात्तिक–मंसिरमा कलेज तथा विद्यालयस्तरका शैक्षिक भ्रमणका कारण संख्या ह्वात्तै बढेको बताइन्छ।
अघिल्लो वर्ष (वि.सं. २०८१ चैत–२०८२ चैत) १२ हजार ९३९ विदेशी पर्यटक पुगेकोमा यस वर्षको आगमन दर दोब्बर नजिक पुगेको स्थानीय प्रशासनको आकलन छ।
बन्दीपुर गाउँपालिका अध्यक्ष सुरेन्द्रबहादुर थापाका अनुसार पर्यटन वर्ष २०२५ लाई लक्षित गर्दै थप पर्यटक भित्र्याउने तयारी तीव्र गरिएको छ। “हाल बन्दीपुरमा ४ घरबास र ७० होटल सञ्चालनमा छन् र सबै भरिभराउ अवस्थामा पुगेका छन्। पर्यटक आगमन वृद्धि संगै व्यवसायी उत्साहित छन्,” अध्यक्ष थापाले बताए।