काठमाडौँ ।
पछिल्ला दिनमा बजार अनुगमन, निरीक्षण तथा कारबाहीलाई तीव्र बनाएको वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले १४ वटा उद्योग तथा फर्मलाई कारबाही गरेको छ। विभागका अनुसार भक्तपुरको मध्यपुरथिमिमा रहेको हलेसी मार्ट प्रालिलाई दुई लाख रुपैयाँ र ओम शिवशक्ति सेरामिक प्रालिलाई ५० हजार रुपैयाँ जरिवाना गरिएको छ।
अनुगमनका क्रममा उपभोक्ता संरक्षण ऐन, २०७५ को दफा १६ र ३८ अनुसारको कसुर गरेको ठहर गर्दै सोही ऐनको दफा ३९(१) बमोजिम कारबाही गरिएको हो। विभागले काठमाडौं र भक्तपुरका विभिन्न उद्योग तथा प्रतिष्ठानमा एकैपटक अनुगमन गर्दै अनियमितता फेला परेकालाई जरिवाना गरेको बताएको छ। वस्तु तथा सेवाको गुणस्तर, परिमाण, मूल्य, नापतौल तथा बिक्री–प्रदान प्रक्रियामा देखिएको कमी नै कारबाहीको प्रमुख आधार बनेको विभागले जनाएको छ।
उपभोक्ता संरक्षण ऐनको दफा ३९ अनुसार, अनुगमन वा निरीक्षणका क्रममा तत्काल प्राप्त प्रमाणका आधारमा उत्पादक, ढुवानीकर्ता, सञ्चयकर्ता, पैठारीकर्ता वा विक्रेताले कसुर गरेको देखिएमा निरीक्षण अधिकृतले सोही बमोजिम जरिवाना गर्न सक्ने व्यवस्था छ। अनुचित व्यापारिक क्रियाकलापमा संलग्न भेटिए अधिकतम दुई लाखदेखि तीन लाख रूपैयाँसम्म जरिवाना गर्ने प्रावधान ऐनमा उल्लेख छ।
यसै क्रममा विभागले काठमाडौँ क्षेत्रपाटीस्थित होम मेड स्पाइन्स एण्ड टीसपलाई २० हजार, गट्ठाघरको जिकेएसएस इन्टरप्राइजेज प्रालिलाई १० हजार, क्षेत्रपाटीको आशिष ट्रेड लिङ्कलाई १० हजार रुपैयाँ जरिवाना गरेको छ। त्यस्तै, काठमाडौँ क्षेत्रपाटीस्थित आइके सर्जिकल सप्लायर्सलाई ५५ हजार जरिवाना रकमसहित २४ घण्टाभित्र उपस्थित हुन निर्देशन दिएको छ।
टोखा–८ काठमाडौँको सिटी मिनरल वाटर एण्ड वेभरेज प्रालिलाई व्यवसायसम्बन्धी कागजात सहित तीन दिनभित्र विभागमा उपस्थित हुन भनिएको छ। विभागले अन्य सात उद्योग तथा फर्मलाई सामान्य निर्देशन जारी गरेको जनाएको छ।