काठमाडौँ
नेपाली सेनाले छानबिन आयोगलाई प्रतिवेदन बुझाइसकेको भए पनि ‘सेनाले जवाफ दिएन’ भन्ने हल्ला फैलाउने प्रयासलाई पूर्णतया गलत र दुराशयपूर्ण बताएका छन्। सेनाका प्रवक्ता जर्नेल राजाराम बस्नेतका अनुसार, भदौ २३ र २४ का घटनाबारे विस्तृत प्रतिवेदन आयोगमा पेश भइसकेको छ।
बस्नेतले भने, “केही स्वार्थान्ध समूहले आधिकारिक विवरण बेवास्ता गर्दै जनतामाझ भिन्न कथा फैलाउन खोजिरहेका छन्। यो पत्रकारिता होइन, राष्ट्रको सुरक्षा र संस्थागत प्रतिष्ठाविरुद्धको नियोजित हमला हो।”
प्रवक्ता बस्नेतले नागरिकहरूलाई सचेत गराउँदै भने, “नेपाली सेना कुनै राजनीतिक पार्टी वा मिडिया समूहको विरोधी होइन, बरु संविधानको रक्षक र राष्ट्रिय सुरक्षा संरचनाको मेरुदण्ड हो। यसप्रकारको निराधार आरोप लगाउनु देशको मेरुदण्डमा प्रहारजस्तै हो।”
उनले जिम्मेवार पत्रकारिताको आवश्यकता जोड्दै थपे, “सत्य, तथ्य र दस्तावेजमा आधारित पत्रकारिताले मात्र लोकतन्त्रलाई बलियो बनाउँछ। आधा जानकारीलाई पूरा सत्यझैँ प्रस्तुत गर्ने र संवैधानिक निकायको बदनाम गर्ने प्रवृत्ति स्वीकार्य छैन।”
नेपाली सेनाले प्रतिवेदन पेश गरिसकेको प्रमाण सार्वजनिक भइसकेको अवस्थामा पनि भ्रम फैलाउनेहरूले अब स्पष्ट रूपमा पर्दाफास हुनेछन्। सेनाका अनुसार, जनताको अधिकारले प्रश्न उठाउन सक्छ तर झूटलाई सत्यझैँ प्रचार गर्ने कुनै पनि दुराशयपूर्ण प्रयास अस्वीकार्य छ।