नेपाली कांग्रेसभित्र अहिले सबैभन्दा बढी चर्चा र विवादको विषय बनेको छ—विशेष महाधिवेशन। पार्टीका महामन्त्रीद्वय गगन थापा, विश्वप्रकाश शर्मा तथा डा. शेखर कोइराला पक्षले विशेष महाधिवेशनमार्फत सभापति शेरबहादुर देउवालाई नेतृत्वबाट हटाएर नयाँ नेतृत्व चयन गर्नुपर्ने अडान राखिरहेका छन्। तर देउवा पक्षले भने महाधिवेशनलाई अझै एक वर्ष धकेल्दै फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा देउवाकै नेतृत्वमा जाने अडान लिएको छ।
सामाजिक सञ्जालमै चर्कियो वाकयुद्ध
विशेष महाधिवेशनको विषयमा पार्टीभित्रका दुई धारबीच सामाजिक सञ्जालमै वाकयुद्ध सुरु भएको छ। जेनजी आन्दोलनपछि देउवाले राजनीति बाटै सन्यास लिने संकेत दिएपछि केही समय मौन बसेका संस्थापन पक्षका नेता देउवाले पुनः सक्रियता देखाएपछि विशेष महाधिवेशन नहुने पक्षमा कडा रूपमा उभिन थालेका छन्।
यता, गगन थापा नेतृत्वको समूह भने विशेष महाधिवेशनको विकल्प नै छैन भन्दै निरन्तर दबाब बढाइरहेको छ। सोमबार सामाजिक सञ्जालमार्फत थापाले देउवाकै हस्ताक्षरमा चुनावमा जाने चर्चा असत्य भएको उल्लेख गर्दै, ‘विधान अनुसार समयभित्र विशेष महाधिवेशन हुन्छ, त्यहीँबाट नयाँ सभापति आउनेछन्,’ भनेका थिए।
गगनलाई गुरुङको जवाफ, ‘विशेष महाधिवेशन कुनै हालतमा हुँदैन’
थापाको पोस्टको भोलिपल्टै संस्थापन पक्षीय केन्द्रीय सदस्य कल्याणकुमार गुरुङले उस्तै शैलीमा जवाफ फर्काउँदै कुनै पनि हालतमा विशेष महाधिवेशन नहुने स्पष्ट पारे। उनले महाधिवेशन नहुनुका पाँच कारण उल्लेख गर्दै–
-
केन्द्रीय कार्यसमितिमा अहिलेसम्म औपचारिक प्रस्ताव नआएको
-
विधानको धारा १७(२) अनुसारको नियमावली र कार्यविधि नबनेको
-
विशेष महाधिवेशनबाट सभापति वा पदाधिकारी हटाउने व्यवस्था विधानमा नै नभएको
जस्ता तर्क प्रस्तुत गरेका छन्।
गुरुङका अनुसार विधानमै व्यवस्था नहुँदा विशेष महाधिवेशनको औचित्य नै कमजोर हुने भएकाले देउवा नेतृत्व सुरक्षित रहने दाबी गरिएको छ।
नेतृत्व परिवर्तन चाहने पक्ष अडिग
तर गगन–शेखर पक्षका नेताहरू भने वर्तमान नेतृत्वमाथि जनविश्वास कमजोर भएको भन्दै देउवाको नेतृत्वमा चुनावमा जान नसकिने ठानिरहेका छन्। जेनजी आन्दोलनपछि बलियो बनेको नेतृत्व परिवर्तनको माग देउवा पुनः सक्रिय बनेसँगै केही मत्थर भए पनि दुवै समूहबीच शक्ति–प्रदर्शन खुलै देखिन थालेको छ।
विशेष महाधिवेशन माग गर्नेहरूको भोलि काठमाडौंमा भेला
विशेष महाधिवेशन माग गर्दै आएका महाधिवेशन प्रतिनिधिहरूले बुधबार विशेष भेला बोलाएका छन्। कांग्रेसका एक नेताका अनुसार मंसिर १० गते दिउँसो १ बजे प्रदर्शनी मार्गस्थित राष्ट्रिय सभागृहमा उक्त समूहको भेला हुनेछ।
त्यहाँ नेताहरूले विशेष महाधिवेशनको आवश्यकता, औचित्य र आगामी रणनीतिको विषयमा धारणा राख्नेछन्।
कांग्रेसभित्रको यो तानातानले पार्टी आगामी निर्वाचनतर्फ अघि बढ्ने कि आन्तरिक विवादमै जकिँने भन्ने प्रश्न अझ गहिरिँदै गएको छ।