एजेन्सी
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनियाँ राष्ट्रपति सी जिनपिङबीच टेलिफोन वार्ता भएको छ। वार्तापछि ट्रम्पले आगामी अप्रिलमा चीन भ्रमण गर्ने घोषणा गरेका छन्। बीबीसीले जनाएअनुसार, ट्रम्पले सी जिनपिङलाई पनि आगामी वर्ष अमेरिका भ्रमणका लागि निम्तो दिएका छन्।
दुबै नेताबीचको वार्तामा व्यापार, युक्रेन–रुस युद्ध, फेन्टानिल मुद्दा तथा ताइवानजस्ता संवेदनशील विषयमा केन्द्रित छलफल भएको ट्रम्प प्रशासन र चिनियाँ विदेश मन्त्रालयले जनाएको छ। ट्रम्पले ट्रुथ सोसलमा लेख्दै चीनसँगको सम्बन्ध “अत्यन्तै मजबुत” रहेको दाबी गरेका छन्।
एक महिना अघि दक्षिण कोरियाको बसानमा उनीहरूको प्रत्यक्ष भेट भएकाे थियो। सो भेटपछि दुवै देशले ट्यारिफमा अस्थायी युद्धविरामकाे घोषणा गरेका थिए। अमेरिकाले २० प्रतिशत ट्यारिफ घटाएर १० प्रतिशतमा झारेको थियो, जसको मुख्य उद्देश्य फेन्टानिलको आपूर्ति घटाउनु रहेको बताइएको थियो। हाल भने चिनियाँ सामानमा करिब ५० प्रतिशतसम्मको औसत ट्यारिफ यथावत छ। यसैबीच अमेरिकाले थप १०० प्रतिशत ट्यारिफ लगाउने चेतावनी फिर्ता लिएको छ भने चीनले दुर्लभ खनिज निर्यातमा नियन्त्रण लागू गर्ने योजनालाई रोक्का गरेको छ। चिनियाँ सरकारी मीडियाले दुवै देशबीचको सम्बन्ध समानता, सम्मान र पारस्परिक फाइदाका आधारमा सकारात्मक रूपमा अघि बढिरहेको दाबी गरेको छ।
ताइवान र युक्रेनबारे छलफल
वार्ताका क्रममा राष्ट्रपति सीले ताइवान चीनमा पुनः फर्कनु चीनको युद्धपछिको अन्तर्राष्ट्रिय व्यवस्थाको दृष्टिकोणका लागि अत्यावश्यक रहेको बताएका छन्। ताइवान मुद्दालाई लिएर हाल चीन र जापानबीच कूटनीतिक तनाव तीव्र बनेको छ। केही दिनअघि जापानी प्रधानमन्त्री सानाए ताकाइचिले चीनले ताइवानमा आक्रमण गरे जापानले सैन्य प्रतिक्रिया जनाउन सक्ने चेतावनी दिएका थिए।
ट्रम्पले भने आफ्नो सार्वजनिक पोस्टमा ताइवानबारे केही उल्लेख गरेका छैनन्। तर जापानका लागि अमेरिकी राजदूत जर्ज ग्लासले अमेरिका टोकियोको पक्षमै रहेको स्पष्ट पारेका छन्।
ह्वाइट हाउसकी प्रेस सेक्रेटरी क्यारोलिन लिभिटका अनुसार करिब एक घण्टा लामो टेलिफोन वार्तामा मुख्य फोकस व्यापारमै केन्द्रित रह्यो।
विश्लेषकहरूका अनुसार पछिल्ला भेटवार्ता र संवादले वाशिङटन–बेइजिङबीच अस्थायी मैत्रीपूर्ण वातावरण बनेको संकेत देखिए पनि चीन दीर्घकालीन रणनीतिक खेलमा केन्द्रित रहेको टिप्पणी गरेको छ।