काठमाडौँ, ९ मङ्सिर।
बाँके राष्ट्रिय निकुञ्जमा जङ्गल सफारीको आकर्षणसँगै आन्तरिक तथा बाह्य पर्यटकको चहलपहल उल्लेख्य रूपमा बढ्न थालेको छ।
बैजनाथ–१ चिसापानीस्थित गाभर भ्याली र मिनी गाभर सामुदायिक होमस्टेले छुट्टाछुट्टै दुई जङ्गल सफारी जीप सञ्चालनमा ल्याएपछि निकुञ्जमा सफारी गर्न आउने पर्यटकको सङ्ख्या तीव्रगतिमा बढेको पर्यटन व्यवसायीहरूको भनाइ छ।
नेपालगञ्ज र कोहलपुरका तारे होटल तथा बैजनाथ र राप्तीसोनारी गाउँपालिकास्थित होमस्टे र रिसोर्टमा बसोबास गर्ने अधिकांश पाहुनाहरूले बाँके राष्ट्रिय निकुञ्जलाई मुख्य घुमफिर गन्तव्यका रूपमा रोज्ने गरेका छन्।
“हामीसँग सीमित जीप मात्रै छन्, त्यसैले जसले पहिला खबर गर्छ, उसैलाई सफारी गराइदिन्छौँ,” भनेर मिनी गाभर सामुदायिक होमस्टेका सञ्चालक बाबुराम चौधरीले जानकारी दिए। शनिबार विशेषगरी आन्तरिक पर्यटकको भीड बढ्ने र विदेशी पाहुनाहरू बाघ देखेर निकै उत्साहित हुने गरेको उहाँले बताए। नाट्टा बाँकेसहित अन्य व्यवसायीहरूले पनि थप जीप सञ्चालन गर्ने तयारी गरेका छन्।
चौधरीका अनुसार दैनिक २५ देखि ३० जनासम्मको समूह काठमाडौँ, बुटवल, दाङ, सुर्खेत, नेपालगञ्ज तथा भारतका लखनउ, बहराइचलगायत स्थानबाट सफारीका लागि आउने गरेका छन्। थारु संस्कृतिमा आधारित होमस्टेमा उनीहरू जङ्गल सफारीसँगै थारु सांस्कृतिक प्रस्तुतीमा रमाउने गरेको बताइएको छ।
होमस्टेमा चार र आठ घण्टे सफारी प्याकेजका साथै ‘नाइट स्टे’ सुविधा रहेको छ। चार घण्टे सफारी शुल्क रु १२ हजार र आठ घण्टे सफारी शुल्क रु १६ हजार तोकिएको छ। नाइट स्टे तथा खान–बस्नका लागि छुट्टै प्याकेज उपलब्ध छ। केही समयअघि निकुञ्जको करेली मचानमा अमेरिकी पर्यटकले नाइट स्टे गरेका थिए भने पाटेबाघ, चितुवा, चित्तल, बँदेल, चौका लगायतका वन्यजन्तु समेत अवलोकन गरिएको थियो।
नाट्टा बाँकेका निवर्तमान अध्यक्ष श्रीराम सिग्देलले नेपालगञ्जबाट करिब २२ किलोमिटर दूरीमा रहेको बाँके राष्ट्रिय निकुञ्ज सबैभन्दा सहज र नजिकको पर्यटकीय गन्तव्य भएको बताए। निकुञ्जभित्रको बाटो खुलेसँगै सफारी सहज भएको र भारतसँगको खुला सिमानाले भारतीय पर्यटक भित्र्याउन मद्दत पुगेको उनले उल्लेख गरे।
बाँके राष्ट्रिय निकुञ्जका प्रमुख वीरेन्द्र कँडेलका अनुसार हाल निकुञ्जमा पर्यटक आगमन बढ्दै जाँदा सफारीका लागि निजी लगानी पनि वृद्धि भइरहेको छ। बाघ संरक्षणका लागि नेपाल सरकारले अन्तरराष्ट्रिय समुदायसँग गरेको प्रतिबद्धताअनुसार २०६७ असार २८ गते बाँके, दाङ र सल्यानको ५५० वर्ग किमी क्षेत्र समेटेर नेपालको १०ौँ राष्ट्रिय निकुञ्जका रूपमा बाँके राष्ट्रिय निकुञ्ज स्थापना गरिएको हो।