काठमाडौं।
नेपाल चिकित्सक संघ (NMA) को नयाँ कार्यसमिति चयन गर्ने तयारी भइरहेको बेला डा. विश्वराज दवाडीले अध्यक्ष पदका लागि आफ्नो उम्मेदवारी औपचारिक रूपमा घोषणा गरेका छन्। सोमबार सार्वजनिक वक्तव्य जारी गर्दै उनले चिकित्सकको सुरक्षा, स्वाभिमान र स्वास्थ्य सेवाको गुणस्तर uplift गर्ने अभियानलाई प्रमुख एजेन्डा बनाउँदै निर्वाचनमा होमिने बताएका छन्।
डा. दवाडीले पछिल्लो समय चिकित्सकमाथि भइरहेका हिंसात्मक आक्रमण, पेसागत अविश्वास तथा दक्ष जनशक्तिको तीव्र पलायन स्वास्थ्य क्षेत्रका प्रमुख चुनौती बनेको उल्लेख गर्दै अब NMA केवल औपचारिक संस्था नभई स्वास्थ्य प्रणालीको मेरुदण्डको भूमिकामा उभिनुपर्ने आवश्यकता दोहोर्याए।
“सुरक्षा, स्वाभिमान र सेवाको गुणस्तर— डाक्टरको हितमा NMA को सशक्त भूमिका” आफ्नो अभियानको मूल नारा हुने दवाडीले बताए।
उनले प्रस्तुत गरेका प्रमुख एजेन्डाहरू यसप्रकार छन्–
१. चिकित्सकहरूको पूर्ण सुरक्षा
– चिकित्सकमाथि हुने हिंसा विरुद्ध ‘शून्य सहनशीलता’ नीति लागू गर्नु।
– स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्था सुरक्षा ऐनको प्रभावकारी कार्यान्वयनका लागि सरकारले कडा कारबाही सुनिश्चित गर्नुपर्ने माग।
– सबै चिकित्सकका लागि अनिवार्य मेडिकल इन्डेमनिटी बीमा।
– सुरक्षित र मानसिक–शारीरिक रूपमा सन्तुलित कार्य वातावरण निर्माणका लागि अस्पताल र सरकारी निकायसँग समन्वय।
२. वृत्ति विकास र ‘ब्रेन ड्रेन’ नियन्त्रण
– नेपालमा सेवा गर्ने डाक्टरलाई सम्मान, अवसर र प्रोत्साहन प्रदान गर्ने नीति।
– विशेषज्ञ उत्पादन र दुर्गम क्षेत्रमा सेवा विस्तारका लागि आकर्षक प्याकेज।
– चिकित्सकहरूका लागि अनुसन्धान र प्रकाशनलाई प्राथमिकता।
– सरकारी, निजी र शैक्षिक संस्थामा रहेका चिकित्सकको पारिश्रमिकमा एकरूपता कायम गर्न राष्ट्रिय मापदण्ड तयार गर्ने पहल।
३. स्वास्थ्य नीतिमा चिकित्सक संघको निर्णायक हस्तक्षेप
– स्वास्थ्यसम्बन्धी हरेक कानुन, नियम र नीतिमा NMA को अनिवार्य सहभागिता।
– नीतिगत नेतृत्व गर्दै गुणस्तरीय र सुलभ स्वास्थ्य सेवा उपलब्ध गराउन दबाबमूलक अभियान।
– ग्रामीण स्वास्थ्य शिविर, जनचेतना कार्यक्रमलाई प्राथमिकता।
४. NMA को आन्तरिक सुधार र पारदर्शिता
– सदस्य–मैत्री र पूर्ण पारदर्शी प्रशासन।
– सदस्यता नवीकरणदेखि मतदानसम्मको प्रक्रिया डिजिटल माध्यमबाट सञ्चालन।
– आम्दानी–खर्च, निर्णय र वार्षिक योजनामा पूर्ण खुलापन।
५. चिकित्सकहरूको एकता र सम्मान
– सबै तहका चिकित्सकलाई एउटै छातामुनि गोलबद्ध गर्ने योजना।
– रेजिडेन्ट, इन्टर्न तथा नयाँ चिकित्सकका हकहितमा विशेष ध्यान।
– श्रमजीवी चिकित्सकका समस्यालाई संस्थागत रूपमा सम्बोधन।
सामाजिक सञ्जालमार्फत जारी गरिएको विस्तृत वक्तव्यमा दवाडीले स्वास्थ्य क्षेत्रलाई समग्र रूपमा सुदृढ पार्ने दृढता व्यक्त गरेका छन्। उनले भने,
“हाम्रो गौरव र स्वाभिमानको पुनर्स्थापनाका लागि अब ‘यत्तिकै चल्छ’ भन्ने सोच बदल्ने बेला आएको छ।”
आगामी नेतृत्वले स्वास्थ्य पेशाको सम्मान, सुरक्षा र गुणस्तरीय सेवा सुनिश्चित गर्न निर्णायक भूमिका निर्वाह गर्ने विश्वास दवाडीले व्यक्त गरेका छन्।