काठमाडौं ।
माघे सङ्क्रान्ति आउन डेढ महिना बाँकी हुँदै गर्दा काठमाडौँको टोखामा चाकु उत्पादन तीव्र बन्दै गएको छ। उखुखेती प्रख्यात बस्तीका रूपमा पहिचान बनाएको टोखामा अहिले स्थानीय उद्योगीहरू तराईबाट सख्खर आयात गरी परम्परागत चाकु उद्योग जोगाइरहेका छन्।
टोखा नगरपालिका–२ र ३ मा बसोबास गर्ने नेवार समुदाय परम्परागत चाकु उत्पादनका लागि परिचित छ। नेवारी भाषामा ‘टु’ को अर्थ उखु र ‘ख्यः’ को अर्थ फल्ने ठाउँ—यिनै शब्दको संयोजनले टोखाको पुरानो पहिचान उखुखेतीसँग जोडिएको स्पष्ट हुन्छ। एक समय देशमै उखुखेती र चाकु उत्पादनका लागि अग्रणी मानिने टोखामा अहिले भने सहरीकरणका कारण उखुखेती पूर्णरूपमा हराइसकेको छ।
उखुखेती अन्त्य भएपछि स्थानीय चाकु उद्योगीहरूले कपिलवस्तुको चन्द्रौटा सहित तराईका विभिन्न क्षेत्रमा उत्पादित सख्खर निर्भरता बढाएका छन्। टोखा परम्परागत चाकु संरक्षण समाजका संस्थापक अध्यक्ष कृष्णबहादुर श्रेष्ठका अनुसार, अहिले टोखामा १८ वटा उद्योग चाकु उत्पादनमा सक्रिय छन्। विगतमा १४ उद्योग मात्रै रहेकाले चाकु उद्योग क्रमशः विस्तार हुँदै गएको उनले बताए।
संरक्षण समाजले नयाँ पुस्तालाई चाकु उत्पादनमा आकर्षित गर्न तालिम, प्रवर्द्धन तथा बजार विस्तारका कार्यक्रम सञ्चालन गर्दै आएको छ। चाकु उत्पादनको विश्वव्यापी बजार बनाउने लक्ष्यसहित तीनै तहको सरकारसँग सहकार्य भइरहेको समाजले जनाएको छ। साथै, लोपोन्मुख अवस्थामा पुगेको टोखाको परम्परागत उखुखेती पुनर्जीवित गर्न किसानलाई प्रोत्साहन गर्ने योजनाहरू पनि अघि सारिएको छ।
टोखामा उत्पादन भएको चाकु असन, इन्द्रचोक, मनमैजु, भक्तपुर, पाटन, कीर्तिपुर लगायतका उपत्यकाभित्रका बजारमा मात्र नभई नारायणघाट, पोखरा, बुटवल, विराटनगर जस्ता प्रमुख सहरहरूमा समेत बिक्री वितरण हुँदै आएको छ। संस्थापक अध्यक्ष श्रेष्ठका अनुसार, टोखा चाकुको माग नेपालभित्र मात्र सीमित नभई विदेशमा पनि क्रमशः बढ्दो छ।