सङ्खुवासभाको हिमाली भेगमा जन्मे–हुर्केका आचुङ्मा भोटे पछिल्ला १६ वर्षदेखि तराईमा आएर जडीबुटी व्यवसाय गर्दै आएका छन्। इटहरी उपमहानगरपालिका–६ टेङ्ग्रा खोलानजिकै हटियालाइनमा खुला आकाशमुनि विभिन्न जडीबुटी बिक्री गर्दै आएकी भोटे दैनिक ६ हजारदेखि १० हजार रुपैयाँसम्म आम्दानी गर्छिन्। हटियाको दिन आइतबार भने उनको कारोबार १५ हजारदेखि २० हजार रुपैयाँसम्म पुग्ने गरेको छ।
भोटेकी भनाइमा जडीबुटी व्यवसाय उनीहरूको पुर्खौली पेशा हो। जिजुबाजेदेखि बुबाआमासम्मको पुस्तासम्म जडीबुटी सङ्कलन र बिक्री गर्दै आएको परम्परालाई आफूले तराईमा बसाइ सरेपछि निरन्तरता दिएको बताउँछिन्। उनले भनिन्, “पहाडमा अस्पताल र सडक सुविधा नहुँदा बिरामी पर्दा यही जडीबुटी प्रयोग हुन्थ्यो। त्यही सीप लिएर यहाँ आएँ, अहिले यही नै मेरो जीवन, यही आम्दानीको आधार हो।”
पहिला हिउँद लागेपछि लेकमा पाइने जडीबुटी बोकेर बुबाआमा कुम्लो बोकी महिनौँ हिँडेर तराई झर्थे। सडक यातायातको पहुँच बढेसँगै अहिले गाउँमै बसेर पनि व्यापार गर्न सजिलो भएको भोटे बताउँछिन्। सुरुमा तापक्रम र शहरको जीवनशैली निकै चुनौतीपूर्ण भए पनि विस्तारै बानी परेपछि व्यापार विस्तार हुँदै गएको उनको भनाइ छ।
हाल भोटेको पसलमा ५ रुपैयाँदेखि २० हजार रुपैयाँसम्मका १०० भन्दा बढी प्रकारका जडीबुटी उपलब्ध छन्। रक्सी बनाउन प्रयोग हुने मर्चादेखि धार्मिक संस्कारमा प्रयोग हुने सामग्री तथा किराँत समुदायले साकेला पर्वमा प्रयोग गर्ने चौरीको पुच्छरसम्म बिक्रीमा छ। शिलाजित, पदमचाल, सुगन्धवाल, टिमुर, हिँग, केसर, बतिसा, जेठिमधु, यार्सागुम्बालगायतका लोकप्रिय जडीबुटी उनी ग्राहकलाई उपलब्ध गराउँदै आएकी छन्। “एकपटक सामान किनेर लग्नेहरू फेरि फर्केर आउनुहुन्छ, यही नै मेरो सफलताको आधार हो,” भोटे भन्छिन्। काठमाडौं, विराटनगर, वीरगञ्ज, मोरङ, झापा लगायत स्थानबाट फोनमार्फत अर्डर आउने गरेको उनले बताइन्।
त्यही स्थानमा १५ वर्षदेखि जडीबुटी व्यापार गर्दै आएकी पासाङ् ल्यामु भोटियाले समेत यही पेशाले आफू आत्मनिर्भर बनेको बताइन्। “घरखर्चदेखि बालबच्चाको पढाइसम्म सबै खर्च यही व्यापारले धानेको छ,” उनले भनिन्। पहाडको चिसो हवापानीमा हुर्किएकी उनी सुरुवाती दिनमा तराईको गर्मीमा व्यापार गर्नु चुनौतीपूर्ण रहेको तर बिस्तारै अनुकूल हुँदै व्यवसाय चलायमान बनेको बताउँछिन्।
जडीबुटीका लागि सङ्खुवासभाको चेपुवा, हटिया, भोटखोला, होङ्गोङ, गोला लगायतका हिमाली क्षेत्रमा आज पनि शेर्पा र भोटे समुदाय परम्परागत रूपमा सङ्कलन तथा बिक्री गर्दै आएका छन्। विगतमा महिनौँ कुम्लो बोकेर गाउँ–गाउँ डुल्दै व्यापार गर्ने चलन रहे पनि अहिले यातायात र आपूर्तिको सहजताले स्थानीयमै बस्नेदेखि पहाड–तराई दुवै क्षेत्रमा बजार विस्तार भएको व्यापारीहरूको भनाइ छ।