काठमाडौँ ।
मंसिर २४, २५ र ২৬ गते बुद्ध जन्मस्थल लुम्बिनीमा हुने ‘विश्व शान्ति कार्यक्रम’मा विभिन्न देशका २५ अर्बपतिसहित १० हजारभन्दा बढी सहभागीहरू उपस्थित हुने भएका छन्। विश्व शान्ति कार्यक्रमद्वारा आयोजना गरिने तेस्रो संस्मरणका रूपमा यस वर्षको कार्यक्रम विशेष रूपमा उल्लेखनीय हुने आयोजकहरूले बताएका छन्।
कार्यक्रमकी मिडिया संयोजक सुलोचना खतिवडाका अनुसार पहिलोपटक २५ अर्बपतिहरू शान्ति, सहअस्तित्व र वैश्विक अवबोधनका विषयमा छलफल गर्न लुम्बिनीमा भेला हुँदैछन्।
प्रमुख सहभागीहरू
कार्यक्रममा सहभागी हुने उच्च–स्तरीय हस्तीहरूमा
-
भारत, केरलास्थित सिगल इन्टरनेशनल ग्रुपका अध्यक्ष डा. सुरेशकुमार मधुसुधान,
-
स्वतन्त्र स्लोभेनियाका प्रथम प्रधानमन्त्री तथा युरोपेली संसदका पूर्व सदस्य लोज्जे पिटरले,
-
इथियोपियाका पूर्व प्रधानमन्त्री ताम्रत लेन,
-
युएई र भारतमा व्यापारीक प्रभाव जमाएका इराम होल्डिङ्सका डा. सिद्दिक अहमद
लगायतका व्यक्तिहरू रहेका छन्।
१० हजारभन्दा बढी सहभागी अपेक्षित
खतिवडाका अनुसार नेपाल तथा विदेशका राजनीतिक नेता, विद्वान, संयुक्त राष्ट्रसंघका सांस्कृतिक राजदूत, अन्तर्राष्ट्रिय व्यवसायी, कलाकार, युवा तथा सामुदायिक प्रतिनिधिहरू कार्यक्रममा सहभागी हुनेछन्।
लुम्बिनीमा अवस्थित चिनियाँ व्यापारी प्रतिनिधिमण्डलको पनि उल्लेखनीय उपस्थिति रहने छ।
छलफलका मुख्य विषय
तेस्रो संस्मरणको यो तीनदिने कार्यक्रममा विशेष रूपमा निम्न विषयहरूमा बहस तथा सत्र सञ्चालन हुनेछ—
-
विश्व शान्ति र सहअस्तित्व
-
जलवायु परिवर्तन र सतत् विकास
-
सामाजिक न्याय र आन्तरिक कल्याण
-
व्यावहारिक शान्ति निर्माण
-
नेतृत्व, स्थानीय शासन र सीमान्तकृत समुदायको भूमिक
-
युवा, महिला तथा आदिवासी समुदायको योगदान
कार्यक्रम संयोजक शेखर गौतमका अनुसार शान्ति र समृद्ध भविष्यका लागि बहुपक्षीय संवाद यस पटकको केन्द्रबिन्दु हुनेछ।
सांस्कृतिक प्रदर्शनी र कलात्मक कार्यक्रम
कार्यक्रममा विचार–विमर्शसँगै सांस्कृतिक प्रदर्शनी, संगीत, कला र रचनात्मक प्रस्तुतिहरू समेत हुने भएकाले लुम्बिनी आगामी तीन दिन विविधता, संस्कृतिको सौन्दर्यता र शान्तिको सन्देशले भरिने छ।
लुम्बिनीमा हुन लागेको यो भव्य कार्यक्रमले नेपाललाई अन्तर्राष्ट्रिय मञ्चमा पुनः शान्ति र संवादको केन्द्रका रूपमा उभ्याउने अपेक्षा गरिएको छ।