काठमाडौँ ।
पूर्व–पश्चिम राजमार्ग अन्तर्गत नारायणी नदीमा नयाँ पुल निर्माणको काम औपचारिक रूपमा सुरु भएको छ। पुलको डिजाइन गत कात्तिक १४ गते स्वीकृत भएपछि निर्माण कार्य अघि बढ्न थालेको हो।
सडक डिभिजन कार्यालय भरतपुरका अनुसार अहिले नदी किनारमा माटो फिलिङ र पाइल बोरिङका लागि आवश्यक प्लेटफर्म निर्माण भइरहेको छ।
इन्जिनियर अर्जुन घिमिरेले डिजाइन स्वीकृत भएपछि करिब दुई हप्तादेखि फिल्डमा काम सुरु भएको जानकारी दिए।
डिजाइन ढिलाइले निर्माण प्रभावित
पुल निर्माणका लागि आवश्यक पाइल बोरिङ मेसिन अघिल्लो वर्ष नै निर्माण स्थलमा पुर्याइए पनि डिजाइन पास नहुदा काम अघि बढ्न सकेको थिएन।
कात्तिक १८ गते निर्माण व्यवसायीलाई काम अघि बढाउन औपचारिक रूपमा निर्देशन दिइएको थियो।
सम्झौता २०८० जेठ १९ गते, लागत १ अर्ब ६८ करोड
यो पुल निर्माणका लागि २०८० जेठ १९ गते तुँदी कन्स्ट्रक्सन प्रालिसँग
१ अर्ब ६८ करोड ७६ लाख २३ हजार ३५४ रुपैयाँ (भ्याटसहित) मा सम्झौता भएको थियो।
सम्झौता अनुसार—
तर पुलको डिजाइनमा मात्रै साढे दुई वर्ष बितेपछि समग्र परियोजना निकै ढिलो भएको छ।
म्याद थप्नुपर्ने निश्चित
सम्झौता अनुसार पुल निर्माण २०८४ जेठ १९ गतेभित्र सम्पन्न गर्नुपर्ने भए पनि
अब करिब डेढ वर्ष मात्र समय बाँकी छ।
इन्जिनियर घिमिरेका अनुसार बाँकी समयसीमामा पुल निर्माण सम्पन्न असम्भव भएकाले म्याद थप्नुपर्ने निश्चित भएको छ।
“अब म्याद थप गर्नुपर्ने नै हुन्छ। त्यसका लागि फाइल विभागमा पठाउनुपर्छ, तर प्रक्रिया सुरु भइसकेको छैन,” — इन्जिनियर घिमिरे
छिट्टै पाइल बोरिङ सुरु हुँदै
हाल निर्माण स्थलमा तीव्रगतिमा माटो भर्ने काम भइरहेको छ।
छिट्टै पाइल बोरिङको काम सुरु हुने सडक डिभिजन कार्यालयले जनाएको छ।
डिजाइन ढिलाइका कारण प्रभावित परियोजना अब तीव्र गतिमा अघि बढाइने अपेक्षा गरिएको छ।