काठमाडौं ।
मनाङस्थित नारखोला जलविद्युत् आयोजना निर्माणका लागि आवश्यक वित्तीय व्यवस्थापन पूरा भएको छ। कूल ६१ मेगावाट क्षमताको आयोजना कुमारी बैंकको अगुवाइमा पाँच बैंकको सहलगानीमा अघि बढ्ने भएको हो। बैंकहरूले आयोजना निर्माणका लागि नौ अर्ब ६३ करोड रुपैयाँ बराबरको ऋण उपलब्ध गराउनेछन्।
नारखोला हाइड्रो इनर्जीका अध्यक्ष बटु लामिछाने र कुमारी बैंकका प्रमुख कर्जा अधिकृत अर्पण पोखरेलले संयुक्त रूपमा लगानी सम्झौतामा हस्ताक्षर गरेका हुन्। मनाङका नार्पा भूमि र नासोङ गाउँपालिकामा अवस्थित नारखोला तथा सोतीखोलालाई एकीकृत गरी ६१.११ मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्य रहेको कम्पनीले जनाएको छ।
अध्यक्ष लामिछानेका अनुसार आयोजनाको निर्माणका लागि आवश्यक सबै प्रक्रिया पूरा भइसकेका छन्। यसअघि नै आयोजना र नेपाल विद्युत् प्राधिकरणबीच विद्युत् खरिद सम्झौता (PPA) सम्पन्न भइसकेको छ। कुमारी बैंकको नेतृत्वमा नेपाल एसबिआई बैंक, कृषि विकास बैंक, एनआइसी एसिया बैंक र मुक्तिनाथ विकास बैंक लगानीकर्ताका रूपमा सहभागी भएका छन्।
आयोजनाको ग्रसहेड ५८८.८२ मिटर रहने अनुमान छ। वार्षिक ३६६.४८ गिगावाट–घण्टा विद्युत् उत्पादन हुने परियोजनाबाट करीब दुई अर्ब १० करोड रुपैयाँ बराबरको आम्दानी हुने अपेक्षा सञ्चालन संस्थाले गरेको छ। बाँध संरचना नार्पा भूमि गाउँपालिकामा तथा विद्युत्गृह नासो गाउँपालिकामा निर्माण गरिनेछ। उत्पादन भएको विद्युत् नेपाल विद्युत् प्राधिकरणले मनाङको धारापानीमा निर्माणाधीन सवस्टेसनमार्फत राष्ट्रिय प्रसारण लाइनमा जोडिनेछ।
कूल लागत १२ अर्ब ८४ करोड रहेको आयोजनामा नौ अर्ब ६३ करोड बैंकिङ क्षेत्रबाट जुटाइनेछ भने तीन अर्ब २१ करोड स्वपुँजी लगानी रहनेछ। स्वपुँजीको ठूलो हिस्सा सिँगटी हाइड्रो इनर्जी लिमिटेडले लगानी गर्ने कम्पनीले जनाएको छ।
हाल आयोजनाले पहुँचमार्ग निर्माण सुरु गरिसकेको छ। आगामी तीन महिनाभित्र मुख्य संरचना निर्माण थाल्दै तीन वर्षभित्र सम्पूर्ण पूर्वाधार निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको छ।