काठमाडौँ
पोखरा महानगरका मेयर धनराज आचार्यको घरमा २४ भदौमा जेन–जी आन्दोलनको क्रममा भएको तोडफोड, आगजनी तथा लुटपाट प्रकरणमा संलग्न आरोपमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वडा सभापति चन्द्रबहादुर थापासहित ४ जनालाई कास्की जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा पठाएको छ। एक जना भने २ लाख रुपैयाँ धरौटीमा रिहा भएका छन्।
आपराधिक उपद्रव तथा डाँका–चोरीसम्बन्धी अभियोगमा थुनामा पठाइएकामध्ये एक नाबालक, बिना (विमला) सापकोटा, चीनबहादुर खवास र रास्वपाका वडा सभापति चन्द्रबहादुर थापा रहेका छन्। चन्द्रबहादुरका भाई हरिबहादुर थापा भने २ लाख धरौटीबापत रिहा भएका हुन्।
जेन–जी आन्दोलनको दोस्रो दिन पोखरामा सरकारी तथा निजी संरचनामा व्यापक तोडफोड, आगजनी र लुटपाट भएको थियो। मेयर आचार्यको घर, गाडी, निजी व्यवसायदेखि वरपिपल रिसोर्ट, बगैंचा रिसोर्ट, अंशुभरा स्क्वायर, विभिन्न होटल, स्टल, घर तथा सरकारी कार्यालयहरू लक्षित आक्रमणमा परेका थिए। विभिन्न व्यक्तिले प्रमाणसहित ३० वटा किटानी जाहेरी दर्ता गरेका छन्।
कास्कीमा हालसम्म ५७ जना पक्राउ परेका छन्। तीमध्ये १४ जना पुर्पक्षमा, १४ जना धरौटीमा र २९ जना अझै अनुसन्धान प्रक्रियामा रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। सरकारी संरचनामा मात्रै झण्डै २ करोड रुपैयाँभन्दा बढी तथा निजी क्षेत्रमा करिब साढे ३ अर्ब रुपैयाँभन्दा बढी क्षति पुगेको प्रारम्भिक अनुमान छ।