काठमाडौं ।
आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिक निर्वाचन प्रणाली (PR) तर्फको कार्यक्रम आगामी मङ्सिर २० गतेदेखि सञ्चालन हुने भएको छ। निर्वाचन आयोगले आइतबार कान्तिपथस्थित कार्यालयमा समानुपातिक प्रणालीका लागि निर्वाचन अधिकृतको कार्यालय स्थापना गरेसँगै तयारी औपचारिक रूपमा सुरू गरिएको हो।
निर्वाचन आयोगद्वारा स्वीकृत कार्यतालिका अनुसार राजनीतिक दलहरूले मङ्सिर २१ गते बिहान १० बजेदेखि २३ गते दिउँसो ४ बजेसम्म समानुपातिकतर्फ भाग लिन निवेदन दर्ता गर्नुपर्नेछ। दर्ता रकम पेस गर्ने दलहरूको नामावली मङ्सिर २४ गते सार्वजनिक गरिनेछ।
पुस १३ र १४ गते उम्मेदवारको बन्द सूची पेश गर्ने समय तोकिएको छ भने माघ २० गते समानुपातिक उम्मेदवारहरूको अन्तिम बन्द सूची प्रकाशन गरिनेछ।
उद्घाटन कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले गरेका छन्। समानुपातिकतर्फका निर्वाचन अधिकृत सचिव महादेव पन्थ र सहायक निर्वाचन अधिकृत सहसचिव यज्ञप्रसाद भट्टराई रहनेछन्। यस प्रणालीका लागि ४१ कर्मचारी परिचालन गरिने आयोगले जनाएको छ। आयुक्त भण्डारीले जातीय, भौगोलिक, लैङ्गिकलगायत समूहसम्बन्धी कानुनी प्रावधानअनुसार तथ्यांकको आधारमा प्रतिनिधि चयन हुने भएकाले निर्वाचनप्रति सबै पक्षको विश्वास रहने विश्वास व्यक्त गरे।
विद्यमान कानुनअनुसार प्रतिनिधिसभामा २७५ सदस्य रहनेछन्, जसमा १६५ प्रत्यक्ष र ११० समानुपातिक प्रणालीबाट चयन हुने व्यवस्था छ। प्रत्यक्षतर्फ माघ ६ गते उम्मेदवारी मनोनयन हुने कार्यक्रम छ।
यस्तै, आइतबार नै अर्थमन्त्री रामेश्वरप्रसाद खनाल र कानुनमन्त्री अनिलकुमार सिन्हाले आयोगका प्रमुख अधिकारीहरूसँग निर्वाचन पूर्व तयारी र आवश्यक सरकारी सहयोगबारे छलफल गरेका छन्।