हङकङ ।
हालै एक अपार्टमेन्ट कम्प्लेक्समा लागेको भीषण आगलागीमा १५१ जनाको मृत्यु भएपछि हङकङ सरकारले घटनाको व्यापक छानबिनका लागि न्यायाधीशको नेतृत्वमा ‘स्वतन्त्र समिति’ गठन गरेको छ। हङकङका नेता जोन लीले गत हप्ताको त्रासदीलाई पछिल्ला दशककै सबैभन्दा विनाशकारी दुर्घटनामध्ये एक बताउँदै भवन निर्माण, सुरक्षा र नवीकरणसम्बन्धी कमजोरीहरू गहनरूपमा मूल्यांकन गर्न समिति बनाइएको जानकारी दिए।
अधिकारीका अनुसार आगलागी बाहिरी मचानमा प्रयोग गरिएको जालमार्फत तीव्ररूपमा फैलिएको थियो, जसले आवश्यक अग्नि–प्रतिरोधका मापदण्ड पूरा गर्न नसकेको प्रारम्भिक अनुसन्धानले देखाएको छ। अग्नि रोकथाम प्रणालीले पनि भरपर्दो रूपमा काम नगरेको उल्लेख गरिएको छ।
लीको कडा प्रतिक्रिया
पत्रकार सम्मेलनमा नेता लीले भवन निर्माण तथा नवीकरण प्रक्रियामा रहेको ‘बहुस्तरीय असफलता’ले भविष्यमा यस्ता दुर्घटना नदोहोरिने गरी सुधार आवश्यक भएको बताए।
‘जिम्मेवारहरूलाई कडाभन्दा कडा जवाफदेहिता हुन्छ,’ लीले भने, ‘दोषीहरूले निरीक्षण निकाय र कानून कार्यान्वयन संस्थालाई छल्न घटिया जाललाई योग्य जालसँग मिसाएर प्रयोग गरेको प्रमाण छ।’ उनले अभियुक्तलाई ‘दुष्ट’ सम्बोधन गर्दै थप कडा टिप्पणी गरे।
हङकङमा छानबिनका लागि ‘अनुसन्धान आयोग’ गठन गर्ने कानुनी व्यवस्था रहे पनि यसपटक ‘स्वतन्त्र समिति’ नाम प्रयोग गरिएको छ, जसले कानुनी र संरचनात्मक दुवै पक्षबाट छानबिनलाई फराकिलो बनाउने संकेत गर्दछ।
पक्राउ प्रक्रिया तीव्र
त्रासदीपछि भ्रष्टाचार–विरोधी प्रहरी र सामान्य प्रहरीको संयुक्त अनुसन्धानमार्फत हालसम्म १४ जनालाई पक्राउ गरिएको छ। तीमध्ये १३ जनालाई आगलागीका कारण भएको सामूहिक मृत्युमा संलग्नताको शंकामा पक्राउ गरिएको हो।
यसबीच, जिम्मेवारी माग्दै आवाज उठाउने केही नागरिकहरूलाई पनि प्रहरीले पक्राउ गरेको स्थानीय मिडियाले उल्लेख गरेको छ। २४ वर्षीय विद्यार्थी माइल्स क्वानलाई सरकारी जवाफदेहिता माग्दै फ्लायर वितरण गरेको अभियोगमा ‘राजद्रोही अभिप्रेरणा’ अंतर्गत पक्राउ गरिएको बताइएको छ। उनका चार मागसहितको अनलाइन निवेदनले हटाइँदै गर्दा एक दिनमै १० हजारभन्दा बढी हस्ताक्षर पाएका थिए। पूर्व जिल्ला पार्षद केनेथ चेउङसहित अन्य दुई जनालाई पनि पक्राउ गरिएको छ।
प्रतिक्रिया माग्दा नेता लीले भने, ‘म कुनै अपराध सहन सक्दिनँ, विशेषतः यस्तो ठूलो त्रासदीलाई राजनीतिक वा व्यक्तिगत स्वार्थमा उपयोग गर्ने प्रयासलाई।’
सबैभन्दा घातक आवासीय दुर्घटनामध्ये एक
उत्तरी ताई पो जिल्लाको वाङ फुक कोर्टस्थित अग्लो आवासीय भवनमा गत बुधबार लागेको आगलागी सन् १९८० पछि विश्वकै सबैभन्दा घातक आवासीय दुर्घटनामध्ये एक मानिएको छ। प्रहरीले सात टावरमध्ये पाँचमा खोजी कार्य पूरा गर्दै अपार्टमेन्ट, दलान र सिँढी क्षेत्रमा पीडितका अवशेष फेला पारेको छ।
यसबीच, पीडित परिवारका केही सदस्य सोमबार घटनास्थल फर्की परम्परागत अन्त्येष्टि संस्कार थालेका छन्, जुन केही दिन चल्ने अनुमान गरिएको छ।