काठमाडौं ।
अखिल नेपाल फुटबल संघ (एन्फा) ले आगामी पुस २५ गतेदेखि राष्ट्रिय लिग सुरु गर्ने निर्णय गरेको छ। सोमबार बसेको एन्फा कार्यसमितिको बैठकले प्रतियोगितामा सहभागी हुन इच्छुक सबै ए–डिभिजन क्लबलाई विधानअनुसार टोली दर्ता खुला गर्ने निर्णय गरेको महासचिव किरण राईले जानकारी दिए।
उनका अनुसार राष्ट्रिय लिग सम्पन्न भएको एक महिनाभित्र ए–डिभिजन लिग आयोजना गरिनेछ। बैठकले राष्ट्रिय लिगका लागि ७ दिने र सहिद स्मारक ए–डिभिजन लिगका लागि १५ दिने सूचना जारी गर्दै ‘मार्केटिङ’, ‘टिकेटिङ’, ‘ब्रोडकास्टिङ’ र डिजिटल अधिकारको बोलपत्र आह्वान गर्ने निर्णय पनि गरेको छ।
पूर्वाधार र मैदान निर्माणमा नयाँ निर्णय
फिफा फरवार्ड कार्यक्रमअन्तर्गत धुलिखेल र धनगढीमा नयाँ घाँसे मैदान निर्माण तथा सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको कृत्रिम घाँसे मैदान प्रतिस्थापनका लागि ‘एडेल ग्रास’ कम्पनीलाई प्रस्ताव पेस गर्ने तयारी एन्फाले गरेको छ।
त्यसैगरी एएफसी ‘इक्वेल पिच’ कार्यक्रमअन्तर्गत दशरथ रंगशालामा ‘हाइब्रिड’ घाँसे मैदान राख्ने प्रस्ताव लैजाने निर्णय पनि गरिएको छ।
बैठकले सिन्धुपाल्चोकस्थित मैदानमा कार्यालय तथा प्यारापिटसहितका संरचना निर्माणका लागि जगदम्बा मोक्तान जेभीलाई रु १ करोड २६ लाख ४८ हजार ८१५ मा ठेक्का प्रदान गर्ने निर्णय गरेको छ।
राष्ट्रिय टिमको पोसाक र प्रतियोगिता योजना
नेपाली राष्ट्रिय फुटबल टोलीको पोसाक तथा खेल सामग्री खरिद सम्झौता सम्बन्धित कम्पनीसँग सन् २०२६ अक्टोबर २१ सम्म नवीकरण गरिएको छ। साथै अर्को वर्षदेखि एक वर्षका लागि नयाँ बोलपत्र आह्वान गरिने एन्फाले जनाएको छ।
महिला फुटबलतर्फ, साफ महिला यू–१९ प्रतियोगिता आगामी फागुनमा पोखरामा आयोजना गरिनेछ भने महिला फ्रेन्चाइज प्रतियोगिता पनि सञ्चालन गर्ने तयारी गरिएको छ।
राष्ट्रिय महिला नकआउट प्रतियोगिता उदयपुरमा हुनेछ। सहिद स्मारक राष्ट्रिय महिला लिगका लागि झापा, मोरङ, मकवानपुर र सुनसरी जिल्लासँग समन्वय गरी खेल मैदान तोकिनेछ।
फुटसलका लागि बजेट स्वीकृत
थाइल्याण्डमा आगामी जनवरीमा हुने साफ महिला तथा पुरुष फुटसल प्रतियोगिताका लागि दुवै टोलीलाई ७२ लाख ५६ हजार ३४५ रुपैयाँ उपलब्ध गराउने गरी कुल १ करोड ४५ लाख १२ हजार ६९० रुपैयाँको अनुमानित बजेट स्वीकृत गरिएको महासचिव राईले बताए।