काठमाडौं
नेपाली कांग्रेसका पूर्वमहामन्त्री डा. शशांक कोइरालाले १५औँ महाधिवेशनमा कोइराला परिवार एकठाउँ हुने संकेत गरेका छन्।
१४औँ महाधिवेशनमा कोइराला परिवारका तीनजना नेता विभिन्न पक्षमा रहेका थिए। डा. शेखर कोइराला सभापतिको उम्मेदवार हुँदा डा. शशांक कोइराला शेरबहादुर देउवाको समर्थनमा थिए भने सुजाता कोइराला प्रकाशमान सिंहको टिमबाट उपसभापति उम्मेदवार बनेकी थिइन्।
हाल सुजाता शेखरको पक्षमा रहेको र हप्तामा एक दिन शेखरको सचिवालयमा उपस्थित हुने गरेकी छन्। शशांकले पुस २६–२८ सम्म काठमाडौंमा हुने १५औँ महाधिवेशनमा कोइराला परिवारबाट एक मात्रै उम्मेदवार हुने संकेत दिएका छन्। तर, उनले सभापतिको आकांक्षी रहेको दाबी अझै छाडेका छैनन्।
“सभापति पदमा लड्ने भनेको छु। शेखर दाइ पनि इच्छुक हुनुहुन्छ। हामी दुईजनामध्ये एक जना लड्छौँ,” शशांकले नवलपरासी जाँदै गर्दा सञ्चारकर्मीसँग भनेका छन्।
शशांकले डेढ वर्षअघि नै १४औँ महाधिवेशनमा छरिएका कोइराला परिवारको अवस्था १५औँ महाधिवेशनमा नहुने बताएका थिए। उनले प्रचारसहित देशव्यापी भ्रमण गर्ने र दाजु शेखरसँग मतदाताको धारणा अनुसार निर्णय लिने बताए।
“शेखर दाइ मेरो दाजु भएकाले मैले कुरा गर्नेछु। मेरो पक्षमा बढी मत आएमा उहाँ पछि हट्नुपर्छ, उहाँको पक्षमा बढी मत आएमा म पछि हट्नेछु,” शशांकले भनेका छन्।
उनले महाधिवेशनको तयारीका लागि कम्तीमा तीन महिना आवश्यक रहेको उल्लेख गर्दै, पुसमा सम्भव नभए निर्वाचनपछि महाधिवेशन गर्नुपर्ने सुझाव दिए। साथै, जेनजी पुस्तालाई समेटेर पार्टीलाई अघि बढाउन सबैले तयारी गर्नुपर्ने बताएका छन्।
नेपाली कांग्रेस केन्द्रीय समितिले जेनजी उमेरसमूहलाई समावेशी समानुपातिक प्रतिनिधित्वका आधारमा जातीय र क्षेत्रीय सन्तुलनसँग सदस्यता बाँड्ने निर्णय गरेको छ। हाल कांग्रेसको क्रियाशील सदस्य संख्या झन्डै पौने नौ लाख रहेको छ।