काठमाडौं
सरकारले भाद्र २३ गतेलाई जेनजी शहिद दिवसको रूपमा मनाउने निर्णय गरेको छ।
सोमबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले जेनजी आन्दोलनका क्रममा मृत्युवरण गरेका सहिदहरूको सम्झनामा प्रत्येक वर्ष भाद्र २३ गतेलाई शहिद दिवसको रूपमा मनाउने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेलले जानकारी दिएका छन्।
बैठकले जेनजी आन्दोलनका सहिदका परिवारका सदस्यहरू – आमा, बुबा, श्रीमान/श्रीमती, अविवाहित छोरी/छोरालाई गृहमन्त्रालयमार्फत फोटोसहितको परिचयपत्र उपलब्ध गराउने निर्णय पनि गरेको छ।
यसैगरी, बैठकले प्रेस काउन्सिल नेपालको अध्यक्षमा कुमार शर्मा आचार्यलाई मनोनित गर्ने निर्णय गरेको छ।
बैठकले आगामी माघ १ गतेदेखि नगद कारोबारको सीमा निर्धारण गर्ने निर्णय पनि गरेको छ। नयाँ नियमअनुसार, एक पटकमा पाँच लाख रुपैयाँ वा सो भन्दा माथिको सेवा, बस्तु खरिद बिक्री वा अन्य कारोबार वित्तीय संस्था वा बैंकिङ उपकरणमार्फतै गर्नुपर्नेछ।
त्यसैगरी, श्रीलंकामा हालैको बाढी–पहिरोले ठूलो क्षति पुगेको सन्दर्भमा नेपाल सरकारले सहयोग स्वरूप दुई लाख अमेरिकी डलर उपलब्ध गराउने निर्णय गरेको छ।