तनहुँको व्यास नगरपालिका–१३ स्थित बेनीकोट गाउँका किसानहरूले यस वर्ष करिब दुई करोड रुपैयाँ मूल्य बराबरको सुन्तला बिक्री गरेका छन्। सदरमुकाम दमौलीबाट सात किलोमिटर दूरीमा अवस्थित गाउँमा किसानहरू बारीमा फलेका सुन्तला टिप्ने र बिक्रीमा व्यस्त रहेका छन्।
बेनीकोटका किसान फलबहादुर थापाले यस वर्ष व्यक्तिगत रूपमा १६ लाख ५० हजार रुपैयाँ बराबरको सुन्तला बिक्री गरेको बताए। उनले सुन्तला खेतीबाट मनग्य आम्दानी हुँदै आएको र गाउँमा कुल बिक्री करिब दुई करोड पुगेको जानकारी दिए।
सिद्धबेनी माध्यमिक विद्यालयका पूर्वशिक्षकसमेत रहनुभएका कालबहादुर रानाले आफूले चार लाख रुपैयाँ बराबरको सुन्तला बिक्री गरेको बताए। उनका अनुसार, उत्पादन भएका सुन्तला बिक्रीमा कुनै समस्या छैन; ठेकेदार नै बगानसम्म आइपुगेर मूल्य तोक्ने, टिप्ने र ढुवानी गर्ने काम गर्छन्।
स्थानीय किसान मनसिंह थापाले सुन्तलाखेती अन्य खेतीको तुलनामा सहज र लाभदायी भएको बताए। उनले भने, “प्रत्येक वर्ष मङ्सिर महिनाभर बेनीकोटका किसानहरू सुन्तला बिक्रीमा व्यस्त हुन्छन्।” यस वर्ष उनका बिक्री करिब दुई लाख १० हजार पुगेको छ।
व्यवसायी लेखबहादुर थापाले भने कि भिरालो सडक र सडक स्तरोन्नति नहुँदा सदरमुकामसम्म सुन्तला ढुवानी चुनौतीपूर्ण भए पनि दैनिक पाँचसम्म गाडीमा सुन्तला बजारमा पु¥याइरहेको जानकारी दिए।
बेनीकोटका किसानले प्रत्येक बारीमा न्यूनतम २० देखि ८०० वटासम्म सुन्तलाका बोट लगाएका छन्। यहाँको उत्पादन काठमाडौँ, चितवन र पोखरासम्म पुग्ने गरेको छ। धान भित्र्याउने समय भए पनि सुन्तला यहाँका किसानको मुख्य आम्दानीको स्रोत भएकाले मङ्सिर महिनामा उनीहरू विशेष रूपमा टिपाई र बिक्रीमा व्यस्त रहेका छन्।