जनकपुरधाम ।
विश्वासको मत लिने प्रक्रिया अघि बढाउन बोलाइएको मधेश प्रदेशसभा बैठक मुख्यमन्त्री सरोज कुमार यादव अनुपस्थित भएपछि स्थगित गरिएको छ। बिहान ८:३० बजे डाकिएको बैठक ढिलाइपछि १०:३० मा सुरु भए पनि मुख्यमन्त्री तथा मन्त्रिपरिषद्का सदस्यहरू उपस्थित नभएकाले बैठक दिउँसो २ बजे सम्मका लागि स्थगित गरिएको प्रदेशसभा सचिवालयले जनाएको छ।
विश्वासको मतको कार्यसूची, तर मुख्यमन्त्री अनुपस्थित
नेपालको संविधानको धारा १६८(४) तथा प्रदेश सभा नियमावली नियम १४३(४) बमोजिम मुख्यमन्त्रीले विश्वासको मतसहित वक्तव्य पेस गर्ने कार्यसूची तय गरिएको थियो। तर कार्यसूची सुचारु गर्नुपर्ने समयमा नै मुख्यमन्त्री उपस्थित नहुँदा बैठक अघि बढ्न सकेन।
सर्वोच्च अदालतको आदेशपछि विश्वासको मतमा दबाब
धारा १६८(३) अनुसार प्रदेशसभाको सबैभन्दा ठूलो दल एमालेका संसदीय दलका नेता भएकाले सरोज कुमार यादव मुख्यमन्त्री नियुक्त भएका हुन्।
यसै नियुक्तिविरुद्ध दायर रिटमा सर्वोच्च अदालतले २४ घण्टाभित्र विश्वासको मत लिन सोमबार परमादेश जारी गरेको थियो।
मंगलबार अदालतको आदेशपत्र प्राप्त गरेपछि यादवले बुधबार विश्वासको मत लिनेबारे प्रदेशसभालाई आधिकारिक पत्रसमेत पठाएका थिए।
विवादित शपथदेखि कानुनी चुनौतीसम्म
गत कात्तिक २३ गते पूर्व प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले यादवलाई महोत्तरीको एक होटलमा शपथ गराएपछि मधेश प्रदेशमा विवाद चर्किएको थियो। कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी, जनमत, लोसपा र जसपासहित ७ दल उक्त नियुक्तिविरुद्ध सर्वोच्च पुगेका थिए।
यसै घटनाक्रमपछि संघीय सरकारले भण्डारीलाई पदमुक्त गरेको थियो।
यता कांग्रेस नेतृत्वमा सभामुख रामचन्द्र मण्डलविरुद्ध दायर ‘आचरणविरुद्धको प्रस्ताव’ दुई तिहाइ मतले पारित भएपछि उनी पनि पदमुक्त भएका छन्।
विश्वासको मतका लागि आवश्यक संख्या
मधेश प्रदेशसभामा कुल १०७ मध्ये १०३ सदस्य कायम छन्।
विश्वासको मत पाउन यादवलाई ५३ मत चाहिन्छ।
एमालेसँग २५ मध्ये २४ मत मात्र उपलब्ध छन्, एक सांसद निलम्बित छन्।
सर्वोच्चको आदेशअनुसार यादवले तोकिएको समयभित्र विश्वासको मत लिन नसकेमा धारा १६८(२) अनुसार नयाँ सरकार गठन प्रक्रिया सुरु हुनेछ।