काठमाडौँ, १७ मंसिर २०८२।
प्रभु बैंकको एक केसमा सीआईबीले बैंकका सीइओसहित ३ जनालाई पक्राउ गरेपछि बैंकिङ क्षेत्रमा ठूलो हलचल सिर्जना भएको छ। नियामक नेपाल राष्ट्र बैंक मौन बसेको र बैंकर्स संघले पनि तत्काल प्रतिक्रिया नदिँदा बैंकहरूमा असुरक्षा र तनाव बढेको छ।
विभिन्न बैंकका आधा दर्जन बढी सीइओहरूले सीआईबीको हस्तक्षेपले दीर्घकालीन रूपमा बैंकहरूको कामकाजमा असर पार्न सक्ने बताएका छन्। एक बाणिज्य बैंकका सीइओले भने, “राष्ट्र बैंकले हेर्ने विषय राष्ट्र बैंकलाई हेर्न दिनुपर्छ। अनुसन्धान गर्न सकिन्छ, तर निर्दोष मान्छे तुरुन्तै पक्राउ परेर अदालतमा जानु ठीक होइन।”
अर्का एक बाणिज्य बैंकका सीइओले भने, “राष्ट्र बैंकलाई अव सीआईबीको एउटा अंग बनाएजस्तो भएको छ। अनुसन्धानको नाममा अनावश्यक पीडा दिने काम भयो, जुन उचित छैन।”
प्रभु बैंक प्रकरणमा राष्ट्र बैंक र बैंकर्स संघको भूमिका शंकास्पद देखिएको भन्दै सीइओहरूले यसबाट व्यक्तिगत र प्रतिस्पर्धात्मक उद्देश्य पूर्ति गरिएको गुनासो गरेका छन्। “प्रभु बैंकको सीइओ मेरो प्रतिष्पर्धी थियो जस्तो कुरा गरिएको छ। प्रभु बैंक कमजोर भए मेरो बैंकको र्याङ्क माथि आउँछ भन्ने सोच गलत हो,” एक सीइओले थपे।
थुप्रै सीइओहरूले भने, प्रभु बैंकका कर्मचारीहरू अन्ततः निर्दोष ठहर भए पनि अनावश्यक झमेलामा परेको र कानुन पालनाको नाममा अनावश्यक पीडा भोग्नु परेको बताएका छन्।
यस घटनापछि दुई बैंकका सीइओहरू बैंक छोड्ने तयारीमा पुगेका छन्। सिटिजन्स बैंकका सीइओ गणेश राज पोखरेल र बैंकर्स संघका अध्यक्ष सन्तोष कोइरालाले आफ्नो कार्यकाल सकिसकेपछि बैंकिङ क्षेत्रमा फर्किने योजना नरहेको बताएका छन्। हिमालयन बैंकका सीइओ अशोक समशेर राणा र नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका सीइओ ज्योति पाण्डे पनि बैंक छोड्ने तयारीमा रहेको बताइएको छ।