बर्दियाको गुलरियामा जन्मिएकी अभिनेत्री रिमा विश्वकर्मा पछिल्लो समय राजनीतिको रियालिटी शोमा पनि सक्रिय देखिन थालेकी छिन्। बाल्यकालमै अभिनय यात्रामा प्रवेश गरेकी रिमा म्युजिक भिडियो हुँदै करिब १४ वर्षअघि ‘स्वर’ फिल्ममार्फत ठूलो पर्दामा देखिएकी थिइन्। सात वर्षअघि आफ्नै लगानीमा ‘कोहलपुर एक्सप्रेस’ बनाइ अभिनय गरेपछि भने उनी फिल्म क्षेत्रमा देखिएकी छैनन्।
फिल्मबाट केही समय टाढा रहे पनि रियालिटी शोले उनलाई निरन्तर चर्चामा राखेको छ। ‘नेपाल आइडल’ हुँदै ‘कमेडी च्याम्पियन’ की होस्ट बनेकी रिमा टेलिभिजनमा निकै भिजिबल छिन्। फिल्मी अभिनयमा विशेष जम्न नसकेकी उनी होस्टिङमा भने सफल मानिन्छिन्।
तर जेन–जी आन्दोलनपछि उनी नयाँ भूमिकामा देखिन थालेकी छिन्— नेपाल उज्यालो पार्टीकी केन्द्रीय सदस्यका रूपमा। निर्वाचन आयोगमा दल दर्ता गराउने क्रममै रिमा तदर्थ समितिको केन्द्रीय सदस्य बनेकी थिइन्। बुधवार गरिएको औपचारिक घोषणामा पनि उनी त्यही भूमिकामा उपस्थित भइन्।
उक्त पार्टीको नेतृत्वमा कुलमान घिसिङ प्रत्यक्ष रुपमा संलग्न नभए पनि पार्टी उनको नामसँगै चर्चामा आएको छ। राजनीतिको चर्चा सार्वजनिक व्यक्तिमार्फत बढाउन रिमालाई स्पेस दिएको हो वा उनी स्वयम् अगाडि बढ्न इच्छुक थिइन् भन्ने भने स्पष्ट भएको छैन। तर पार्टीभित्र कुलमानपछि सबैभन्दा भिजिबल अनुहार रिमा नै बनेकी छिन्।
घोषणा कार्यक्रममा उनले नेतृको शैलीमा सम्बोधन गरिन्। होस्टिङमार्फत आर्जिएको भाषिक दखल राजनीतिक सम्बोधनमा पनि झल्कियो। मुलायम शैलीका लागि चर्चित उनी यसपटक आक्रामक शैलीमा प्रस्तुत भइन्। जात, धर्म, लिङ्गका आधारमा हुने विभाजनको आलोचना गर्दै उनले जवाफदेही राजनीतिको आवश्यकता रहेको बताइन्। साथै “गोलि कसको आदेशमा चल्यो थाहा छैन” भन्ने कथनमार्फत एमाले अध्यक्ष केपी ओलीमाथि कटाक्ष समेत गरिन्।
राजनीतिमा कलाकारको प्रवेश नयाँ होइन। करिष्मा मानन्धरदेखि रेखा थापासम्मले सक्रिय राजनीतिक यात्रा सुरु गरे पनि निरन्तर सफलता भने पाएको देखिँदैन। रेखाले संसदीय अभ्याससमेत गरि नेतृत्वको प्रतिस्पर्धामा उत्रिए पनि दुबै क्षेत्रमा सफल हुन सकिनन्। करिष्मा सक्रिय बनाउन नाम नै परिवर्तन गरी ‘सूर्यकुमारी’ बनाइए पनि प्रभाव जमाउन नसकेर अहिले रिल–रियल दुवैतिर कमै देखिन्छिन्।
लोडसेडिङ अन्त्य भएको दिन कुलमान घिसिङलाई ‘अगुवा’ भनेकी रिमाले पार्टीको नेतृत्व पक्षमा माहौल बनाउन पनि भूमिका खेलिरहेकी छिन्।
जेन–जी आन्दोलनपछि राजनीतिमा सक्रियता बढाएका कलाकारमा रिमा एक्लै होइनन्। निशा अधिकारी मल्ल ‘गतिशील लोकतान्त्रिक पार्टी’ मा सहभागी भएकी छिन् भने मीन भाम नेपाली कांग्रेसतर्फ सक्रिय हुँदैछिन्। निश्चल बस्नेतलाई पनि राजनीतिको इच्छा देखिए पनि औपचारिक कदम उठाएका छैनन्।
यसबिच रिमा पार्टीमा औपचारिक रूपमा प्रवेश गर्दै सक्रियता बढाएको देखिन्छ। तर फिल्ममा जस्तै राजनीतिको ‘बक्स अफिस’ पनि अन्ततः चुनाव परिणाममै निर्भर हुने भएकाले वास्तविक स्वीकार्यता भने फागुन २१ मा हुने चुनावले नै निर्धारण गर्नेछ।
जे भए पनि, रिमाले राजनीति प्रवेशसँगै चर्चा र माहौल भने बलियो बनाएकै छिन्।