काठमाडौँ ।
नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज दुई महत्वपूर्ण खेलहरू हुँदैछन्। पहिलो खेलमा पोखरा एभेन्जर्स र काठमाडौँ गोर्खाज बिहान ११:४५ बजे भिड्नेछन्।
जारी लिगमा पोखरा एभेन्जर्सले ५ खेलमा २ जित र ३ हारसँगै ४ अंक जोडेको छ र तालिकाको पाँचौँ स्थानमा पुगेको छ। त्यस्तै काठमाडौँ गोर्खाजले ६ खेलमा ८ अंक बटुलेको छ र दोस्रो स्थानमा रहेको छ। काठमाडौँका लागि आजको खेल लिग चरणको अन्तिम भिडन्त पनि हो।
कुशल भुर्तेल कप्तान रहेको पोखरा एभेन्जर्समा सागर ढकाल, आकाश चन्दसहित राष्ट्रिय टिमका खेलाडी तथा डान डाउथवेट, जिम्मी निशाम, रेमन राइफर, एडम रोसिङ्टन र जेसन रोय जस्ता विदेशी खेलाडी छन्। उता करण केसी नेतृत्वको काठमाडौँ गोर्खाजमा भीम सार्की, शाहब अलाम, रशिद खान, मोहमद आदिल आलमजस्ता स्थानीय खेलाडी र मार्वे गेरार्ड इरासमस, जोन एन्ड्र्यू सिम्पसन, मिलिन्द कुमारलगायतका विदेशी खेलाडी रहेका छन्।
दोस्रो खेलमा दिउँसो ४ बजे सुदूरपश्चिम रोयल्स र चितवन राइनोज आमनेसामने हुनेछन्। अपराजित रहेको सुदूरपश्चिमले ५ खेलमै १० अंक जोड्दै शीर्ष स्थान सुरक्षित गरेको छ र प्लेअफ प्रवेश पक्का गरिसकेको छ। चितवनले भने ५ खेलमा ४ अंकसहित छैटौँ स्थान ओगटेको छ।
दिपेन्द्रसिंह ऐरी नेतृत्वको सुदूरपश्चिम रोयल्समा अभिनाश बोहरा, आरिफ शेख, विनोद भण्डारीलगायत राष्ट्रिय खेलाडी तथा जोश ब्राउन, स्कट कुगेइलिन, क्रिस लिन र हर्मीत सिंह जस्ता विदेशी खेलाडी सहभागी छन्। उता कुशल मल्लको कप्तानीमा रहेको चितवनमा रिजन ढकाल, कलमसिंह ऐरी, देव खनाललगायत राष्ट्रिय खेलाडी तथा रवि भोपारा, सोहेल तनवीर, सैफ जैब, डेविड मलान र अल्पेस रामजानीसमेत विदेशी खेलाडी छन्।