काठमाडौं
सर्वोच्च अदालतको संवैधानिक इजलासमा बुधबार एक असजिलो घटना घट्यो। संसद् विघटनसम्बन्धी नेकपा (एमाले) ले दायर गरेको रिटको सुनुवाइ भइरहेकै क्रममा अर्का अधिवक्ता सुलभ खरेल प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतको आकस्मिक प्रश्नपछि तनावग्रस्त हुँदै इजलासमै ढलेका छन्।
प्रधानन्यायाधीश राउतसहित वरिष्ठतम न्यायाधीश सपना प्रधान मल्ल, न्यायाधीश कुमार रेग्मी, हरिप्रसाद फुयाँल र डा. मनोजकुमार शर्माको उपस्थितिमा राजनीतिक मुद्दाको सुनुवाइ अघि गेहेन्द्र मल्लविरुद्ध प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले दायर गरेको रिटमाथि बहस भइरहेको थियो। खरेल त्यही मुद्दामा पक्षका वकिलका रूपमा उपस्थित भएका थिए।
अधिवक्ता खरेलले परिचय दिँदै बहस सुरु गर्न लागेका बेला प्रधानन्यायाधीश राउतले भदौ २४ मा सर्वोच्च अदालतमा आगलागी हुँदा खरेलले सामाजिक सञ्जालमा लेखेको टिप्पणी स्मरण गराउँदै प्रश्न गरे— “अदालत जल्दा तपाईँले किन खुशी व्यक्त गर्नुभयो? आज फेरि अदालतमै आएर बहस गर्नुपरेको चाहिँ ठीकै लाग्यो?”
उक्त टिप्पणीबारे खरेलले राजनीति प्रेरित न्यायालयको विरोध गरेको दाबी गर्दै आफूले न्यायपालिकामाथि आलोचना मात्र गरेको बताउन खोजे। तर उनको जवाफप्रति असन्तुष्ट बनेका प्रधानन्यायाधीशसहित अन्य न्यायाधीशले पनि क्रमशः प्रश्न तेर्स्याए, जसपछि खरेल झनै तनावमा परे।
लगातार प्रश्न र दबाबका बीच खरेलको हात काप्न थाल्यो र केही बेरमै उनी बेहोस हुँदै इजलासमै ढले। साथमा रहेका कानुन व्यवसायीहरूले उनलाई उठाएर पानी खुवाएपछि उनको होस फिर्ता आएको थियो।
खरेलले लेखेको विवादास्पद टिप्पणी
भदौ २४ मा सर्वोच्च अदालतमा आगलागी हुँदा खरेलले सामाजिक सञ्जालमा यस्तो लेखेका थिए—
“सर्वोच्च अदालत तथा नेपाल बार भवन जल्दा मेरो आँखाबाट एक रत्ती आँसु बगेन। किनकि त्यही स्थानमा म पटक–पटक राजनीतिक नेतृत्वका अनुहारहरू देख्छु, जो माझ संवैधानिक चोर र फटाहा जस्तै लाग्छन्।”
उनले अदालत र बारमा ‘विकृति र राजनीतिक स्वार्थले निको नभएको संस्कृति’ रहेको आरोप लगाउँदै न्यायाधीशहरूको सामूहिक राजीनामा र परीक्षामार्फत मात्र न्यायाधीश नियुक्ति गर्न माग गरेका थिए।
सोही टिप्पणी नै बुधबारको इजलासमा तनाव र नाटकीय मोड आउने मुख्य कारण बनेको कानुनी पेशेवरहरूको भनाइ छ।