काठमाडौं
नेपाल प्रिमियर लिग (एनपिएल) सिजन–२ अन्तर्गत बिहीबार हुने दुई खेलले प्लेअफ चित्रलाई झनै स्पष्ट पार्नेछन्। पहिलो खेलमा काठमाण्डु गोर्खाज र पोखरा एभेन्जर्स आमनेसामने हुँदैछन् भने दोस्रो खेलमा अपराजित सुदूरपश्चिम रोयल्सले चितवन राइनोजसँग भिड्नेछ।
पहिलो टिमका रूपमा प्लेअफ सुरक्षित गरिसकेको सुदूरपश्चिमले पाँचै खेल जितेर उत्कृष्ट लय कायम राखेको छ। दीपेन्द्र सिंह ऐरीको कप्तानीमा रहेको टोलीले ब्याटिङ, बलिङ र फिल्डिङ तीनै विभागमा सन्तुलित प्रदर्शन गर्दै आएको छ। अब बाँकी दुई खेल जितेर अंक तालिका टप गर्ने उसको लक्ष्य छ।
यसैबीच, पाँच खेलबाट चार अंक जोडेको चितवनका लागि भने सुदूरपश्चिमविरुद्धको भिडन्त ‘डु अोर डाइ’ जस्तै छ। हार भएमा प्लेअफ सम्भावनामा ठूलो धक्का पुग्नेछ र बाँकी टिमका नतिजामा भर पर्नुपर्नेछ। चितवनको प्रतिस्पर्धा पोखरा एभेन्जर्स र लुम्बिनी लायन्ससँग रहनेछ।
बिहीबारै हुने अर्को महत्त्वपूर्ण खेलमा काठमाण्डु गोर्खाजले पोखरासँग खेल्दैछ। ६ खेलमा ८ अंकसहित काठमाण्डु प्लेअफ नजिक छ। पोखरालाई हराउन सके १० अंकका साथ सिधै प्लेअफमा प्रवेश गर्नेछ। नेट–रन–रेट राम्रो भएकाले हार भए पनि काठमाण्डुको प्लेअफ यात्रा लगभग सुनिश्चित मानिएको छ।
उता, पोखराका लागि पनि काठमाण्डुविरुद्धको खेल निर्णायक छ। ५ खेलबाट ४ अंक बटुलेको पोखराले जिते प्लेअफ दौडमा बलियो रूपमा फर्कन सक्छ। हार भएमा भने अन्तिम खेलमा चितवनलाई हराउनुका साथै लुम्बिनी र चितवन दुवैले बाँकी खेल गुमाउने आशा गर्नु पर्नेछ।
समग्रमा, काठमाण्डु र पोखराका लागि बिहीबारको खेल बराबर महत्त्वपूर्ण छ। हालसम्मको लिग प्रदर्शन हेर्दा काठमाण्डु पोखराभन्दा अघि देखिन्छ।