मोरङको टंकिसिनवारीस्थित विराट टिचिङ अस्पतालको मनोचिकित्सा तथा मानसिक स्वास्थ्य विभागले आफ्नै पुनर्बास केन्द्र सञ्चालनमा ल्याउने तयारी गरेको छ। कडा तथा जटिल खालका मनोरोगी र सबै प्रकारका लागुऔषध दुर्व्यसनीको दिगो उपचारका लागि केन्द्र स्थापना गर्न लागिएको विभागले जनाएको छ।
रक्सी, गाँजा, ब्राउनसुगर, मेडिकल ड्रग्स (ट्याब्लेट र सुई) सेवन गर्ने व्यक्ति तथा गम्भीर मनोरोगीलाई उपचारपछि समाजमा पुनर्स्थापना गराउने उद्देश्यसँगै केन्द्र निर्माणको प्रक्रिया अगाडि बढाइएको विभागका प्रमुख मनोचिकित्सक प्रोफेसर डा. नवराज कोइरालाले जानकारी दिए। उनका अनुसार केन्द्रमा मनोचिकित्सक, नर्स, व्यवसायिक तालिम विशेषज्ञ, क्लिनिकल मनोवैज्ञानिक र अन्य चिकित्सा अधिकारीहरूको टोली परिचालित हुनेछ। अस्पतालमै बस्न इच्छुक बिरामीलाई केन्द्रमा भर्ना गराइनेछ।
केन्द्रमा उपचारसँगै बिरामीलाई माछा मार्ने, खेती गर्ने, बगैंचा बनाउने, खाना पकाउने, सिकर्मी, नृत्य, गायनलगायत व्यवसायिक तालिम उपलब्ध गराइने डा. कोइरालाले बताए। उनका अनुसार सुधार केन्द्रले लिने शुल्कमै सबै सेवा प्रदान गरिनेछ। केन्द्र सुरक्षित, स्वच्छ र आधुनिक सुविधायुक्त बनाइने लक्ष्य छ।
विभागका चिकित्सकहरूले धेरै दुर्व्यसनी र उनीहरूका अभिभावकलाई अस्पतालमै लागुऔषध उपचार सुविधा उपलब्ध छ भन्ने जानकारी नहुँदा धेरैले बाह्य सुधार केन्द्रमा महँगो शुल्क तिरेर भर्ना हुनुपरेको बताएका छन्। कतिपय सुधार केन्द्र नाममा सञ्चालन भइरहेका संस्थालाई ‘यातना केन्द्र’ नै भन्न सकिने अवस्था रहेको उनीहरूको भनाइ छ।
विराट अस्पतालले एक हजार रुपैयाँमा लागुपदार्थ सेवन परीक्षण गर्दै आएको छ। अस्पतालमा रक्सी, गाँजा, केमिकल तथा मेडिकल ड्रग्समा निर्भर रहेका व्यक्तिहरूका लागि ओपिडी र आवासीय दुवै प्रकारको उपचार सेवा उपलब्ध छ।