भोजपुर
भोजपुरको टेम्केमैयुङ गाउँपालिका–७ कोटमा निर्माणाधीन अस्पताल भवन पाँच वर्षदेखि अलपत्र अवस्थामा रहेको छ। काम छाडेर ठेकेदार सम्पर्कविहीन बनेपछि १५ शैय्याको अस्पताल निर्माण ठप्प भएको हो।
२०७८ सालमा दुई वर्षभित्र निर्माण सम्पन्न गर्ने गरी शुरू गरिएको परियोजना ठेकेदारको उदासीनताका कारण निर्धारित समयभन्दा दुई वर्ष ढिलो हुँदा समेत १० प्रतिशत मात्र काम भएको गाउँपालिकाले जनाएको छ। मैदान सम्याउने, कम्पाउण्ड र रिटेनिङ वाल निर्माण बाहेक अन्य काम अघि नबढेको हो।
भूगोल हिमालयन जेभीले १० करोड १३ लाख ८३ हजार रुपैयाँ (भ्याटबाहेक) लागतमा अस्पताल निर्माण जिम्मा लिएको थियो। तर सम्झौताअनुसार २०८० असारमा सम्पन्न हुनुपर्ने काम हालसम्म पूरा नभएपछि गाउँपालिका ठेकेदार विवेश कार्कीलाई कारबाही प्रक्रिया अघि बढाउने तयारीमा छ। कम्पनीले हालसम्म ९१ लाख रुपैयाँ मात्र भुक्तानी लिएको जनाएको छ।
स्थानियसँग सहकार्य गर्दै १३ दशमलव ५ रोपनी जग्गा अस्पतालका लागि जुटाइएको थियो। खेती गरिरहेको जग्गा आशैमा दिएको तर काम रोकिएपछि निराशा बढेको स्थानीयहरूले बताएका छन्।
स्थानीय भवानी नेपालले भने, “अस्पताल पाँच वर्षदेखि अलपत्र छ। जग्गा दिएर सेवा पाउने आशा गरेका थियौँ तर अब निराश भएका छौँ। सरकारलाई ठेकेदार कारबाही गर्न माग गर्छौँ।”
देशविदेशमा रहेका कोटबासी र स्थानीयको योगदानमा जग्गा खरीद गरिएको स्थानीय योगेन्द्र कटुवालले जानकारी दिए। “रकम जुटाएर दिएर पनि वर्षौंदेखि जग्गा बाँझो छ, अस्पताल भने बनेन,” उनले भने।
गाउँपालिकाका अध्यक्ष सरोज बस्नेतका अनुसार ठेकेदारलाई पटक–पटक ताकेता गर्दा पनि सम्पर्कमा नआएपछि कारबाहीको प्रक्रिया अघि बढाइँदै छ। “ठेकेदारका कारण काम अलपत्र परेको हो। अब थप कारबाहीका काममा अघि बढ्दै छौँ,” उनले भने।
अस्पताल निर्माण सम्पन्न भएमा टेम्केमैयुङको वडा नं. ५, ६, ७, ८ र ९ का हजारौँ स्थानीय लाभान्वित हुनेछन्।