काठमाडौँ, मङ्सिर
प्रधानमन्त्री सुशीला कार्कीले भ्रष्टाचारविरुद्धको कारबाही कुनै पनि हालतमा नरोकिने स्पष्ट गर्दै सरकार जेन–जी आन्दोलनको मर्मअनुसार जिम्मेवारीपूर्वक अघि बढिरहेको बताउनुभएको छ। निर्वाचनको तयारीसँगै सुशासन र जवाफदेहीताका कामहरू समानान्तर रूपमा अघि बढाइरहेको प्रधानमन्त्री कार्कीले खुलाउनुभयो।
सिंहदरबारमा नवगठित प्रगतिशील लोकतान्त्रिक पार्टीका अध्यक्ष सुदन किराती नेतृत्वको प्रतिनिधिमण्डलसँग आज भएको भेटमा प्रधानमन्त्री कार्कीले राज्यका अख्तियारप्राप्त निकायहरूलाई पूर्ण स्वतन्त्रता दिइएकाले छुट्टै आयोग बनाउने आवश्यकता नरहेको बताउनुभयो। उहाँले भन्नुभयो, “अख्तियार, सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग, केन्द्रीय अनुसन्धान ब्युरो—सबै छन्। विगतमा दलीय प्रभावका कारण ती निकाय प्रभावकारी हुन नसके। अब हामी कुनै दबाब दिदैनौँ। काम गर्ने वातावरण दिनु नै अहिलेको प्राथमिकता हो।”
प्रधानमन्त्रीले हाल अख्तियारले आफ्नो कामको रफ्तार बढाएको र केही ठूला भ्रष्टाचार प्रकरणमा सम्बन्धित निकायले पहल थालेको उल्लेख गर्नुभयो। दलीयकरणको चरम प्रभावले देशको विकास रोकिएको भन्दै उहाँले व्यवस्थागत सुधारमा सरकार प्रतिबद्ध रहेको बताउनुभयो।
आगामी चुनावमा युवा पुस्तालाई नेतृत्वमा ल्याएर परिवर्तन संस्थागत गर्नुपर्ने धारणा राख्दै प्रधानमन्त्री कार्कीले कृषिमा देखिएको राजनीतिकरण नै भ्रष्टाचारको जड बनेको टिप्पणी गर्नुभयो। “किसानका नाममा राजनीति भयो। किसान मल नपाएर हैरान छन्, तर किसानका नेता विदेश भ्रमणमा व्यस्त छन्। सहुलियत मल, बीउ, ऋण—सबै उसैले एकलौटी गर्छ,” उहाँको भनाइ थियो।
प्रतिनिधिमण्डलका सदस्यहरूले जेन–जी आन्दोलनका माग छिटो सम्बोधन गर्न आग्रह गर्दै आन्दोलनकारीमाथि भइरहेको धरपकड र केही दलबाट घोषित रूपमा भइरहेको गुण्डागर्दीबारे सरकारको ध्यानाकर्षण गराएका थिए। कुनै दलले संगठित रूपमा गुण्डागर्दी अघि बढाए जेन–जी आन्दोलनले प्रतिकार गर्नुपर्ने अवस्था आउन सक्ने चेतावनी उनीहरूले दिएका छन्।